
कुशल भूर्तेलको उत्कृष्ट इनिङ्स र कुशल मल्लको आक्रामक साथमा नेपालले मंगलबार दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यूएईलाई ८ विकेटले पराजित गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा १ सय २९ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यससँगै दुई खेलको शृंखला १–१ को बराबरीमा टुंगिएको छ। पहिलो खेलमा यूएई ६ विकेटले विजयी भएको थियो।
नेपालका लागि ओपनर कुशल भूर्तेल र कुशल मल्लले पहिलो विकेटका लागि तीव्र सुरुआत दिलाए। दुवैले पहिलो आठ ओभरमा ६७ रनको साझेदारी गरे भने पावर प्लेका ६ ओभरमा बिना क्षति ५१ रन जोडे। मल्ल आउट भएपछि यो साझेदारी टुटेको थियो।
कुशल मल्लले १७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाए। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्तोष यादव १ रनमा स्टम्प आउट भए।
३४ रनमा जीवनदान पाएका भूर्तेलले त्यसको पूरा फाइदा उठाउँदै अविजित ८४ रनको शानदार इनिङ्स खेले। उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरे। यो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनको १४ औँ अर्धशतक हो, जससँगै उनी नेपालका लागि यस प्रारूपमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन्। ओमानविरुद्ध अक्टोबरमा ६९ रन बनाएपछि यो उनको पहिलो अर्धशतक पनि हो।
भूर्तेलले कप्तान दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए। दीपेन्द्र १७ बलमा ३ चौकासहित २३ रनमा अविजित रहे।
