मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

एमाले ब्यानरबाट ओली गायब

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

नेकपा एमालेले पार्टी कार्यक्रमका पोस्टर र ब्यानरबाट अध्यक्ष केपी शर्मा ओलीको तस्बिर हटाउन थालेको छ। बुधबार मनाइने ७७ औँ स्थापना दिवसको पोस्टरमा पनि ओलीको फोटो प्रयोग गरिएको छैन।

नेकपा स्थापना दिवसका लागि सार्वजनिक गरिएको कार्यक्रममा एमालेले संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठका श्यामश्वेत तस्बिर राखेको छ। यसपटक एमालेले सधैं प्रयोग गर्दै आएको मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिरसमेत समावेश गरेको छैन।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र भइरहेका बेला ओलीको तस्बिर नराखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको एमाले नेताहरू बताउँछन्। सचिवालय तहकै नेताहरूले अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्।

२०७१ साउनदेखि एमाले सत्तामा आएयता पार्टीका अधिकांश कार्यक्रममा ओलीको तस्बिर अनिवार्यजस्तै प्रयोग हुँदै आएको थियो। सभा, सम्मेलन, महाधिवेशनदेखि स्थानीय तहका कमिटीसम्मले ओलीको फोटो राखेर तुल ब्यानर प्रयोग गर्ने गरेका थिए।

गत भदौ २३ गते जेनजी आन्दोलनपछि राजकीय सत्ताबाट ओली बाहिरिएयता एमालेले उनको फोटो कम प्रयोग गर्न थालेको देखिन्छ। यसपटकको निर्वाचनमा ओलीलाई प्रधानमन्त्री उम्मेदवार बनाए पनि धेरै उम्मेदवारहरूले प्रचार सामग्रीमा उनको फोटो राखेका थिएनन्।

एमालेले २०८० सालमा सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने परिपत्रसमेत जारी गरेको थियो। कार्यक्रम भड्किलो नबनाउने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, माला-खादा कम प्रयोग गर्ने लगायत निर्देशिका पनि दिइएको थियो।

त्यतिबेला यस्तो आचारसंहिता बनाउनुपर्ने अवस्था आएको बताउने तत्कालीन उपमहासचिव विष्णु रिमालले नै मंगलबार सार्वजनिक गरेको स्थापना दिवसको पोस्टरमा ओलीको तस्बिर समावेश गरिएको छैन।