
बुटवलमा गर्भपतन गराउने क्रममा २९ वर्षीया महिलाको मृत्यु भएको छ भने घटनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पाल्पाको बगनासकाली–२ घर भई हाल तिलोत्तमा नगरपालिका–शंकरनगरमा बस्दै आएकी गीता पाण्डेको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
मृतकका श्रीमान प्रकाश पाण्डेका अनुसार दोस्रो सन्तान गर्भमा बसेपछि चैत २७ गते उनीहरू बुटवलस्थित खत्री नर्सिङ होम पुगेका थिए। परीक्षणका क्रममा करिब १२ हप्ताको भ्रूण असामान्य रहेको भन्दै गर्भपतन गर्न सल्लाह दिइएको थियो।
परिवारका अनुसार वैशाख ४ र ५ गते बोलाइएपछि विभिन्न क्लिनिक र फार्मेसीमार्फत औषधि दिइएको थियो। औषधि सेवनपछि ६ गते पुनः स्वास्थ्य संस्थामा पुर्याइएकी गीताको अवस्था बिग्रँदै गएपछि इन्दु लेखा क्लिनिक हुँदै लुम्बिनी सिटी अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको हो।
श्रीमानले क्लिनिकहरूबीच समन्वयहीन उपचार र गलत औषधि प्रयोगका कारण श्रीमतीको मृत्यु भएको आरोप लगाएका छन्।
प्रहरीका अनुसार खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्ती मगर र इन्दु लेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक परे अन्य स्वास्थ्यकर्मीलाई पनि अनुसन्धानमा समेटिने बताए।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनापछि आक्रोशित आफन्तले खत्री नर्सिङ होममा ताला लगाएका छन्।
