
अमेरिकी बहुराष्ट्रिय राइड सेयरिङ कम्पनी ‘उबर’ ले नेपाली बजारमा प्रवेश गर्ने तयारीस्वरूप अध्ययन सुरु गरेको छ। कम्पनीका प्रतिनिधिहरूले हालै नेपाल आएर राइड सेयरिङ क्षेत्रमा सक्रिय व्यवसायी र सरकारी अधिकारीहरूसँग छलफल गरेको पाइएको छ।
चैत दोस्रो साता नेपाल आएका उबरका प्रतिनिधिहरूले पठाओ, इनड्राइभ लगायतका कम्पनीका उच्च अधिकारीसँग बजारको अवस्था, चुनौती र सम्भावनाबारे परामर्श गरेका थिए। साथै उनीहरूले सरकारी निकायसँग नीति–नियम र कानुनी प्रक्रियाबारे पनि जानकारी लिएका छन्।
पठाओका एक उच्च अधिकारीका अनुसार उबर प्रतिनिधिले नेपाली बजार प्रवेशको सम्भावना र चुनौतीबारे सुझाव मागेका थिए। सानो बजारमा धेरै प्रतिस्पर्धी कम्पनी भएकाले चुनौती हुन सक्ने विषय पनि छलफलमा उठाइएको थियो।
उबरले नेपालमा राइड सेयरिङ, खाना डेलिभरी र डिजिटल सेवा विस्तार गर्ने योजना अध्ययन गरिरहेको बुझिएको छ। कम्पनीले मोबाइल एपमार्फत यातायात, डेलिभरी र स्थान आधारित सेवा विश्वका धेरै देशमा सञ्चालन गर्दै आएको छ।
उद्योग विभागका एक अधिकारीका अनुसार उबरले नेपाल प्रवेशको चासो देखाए पनि औपचारिक छलफल भने अझै प्रारम्भिक चरणमै रहेको छ।
नेपालमा हाल पठाओ, इनड्राइभ, याङ्गो, टुटललगायत दुई दर्जनभन्दा बढी राइड सेयरिङ कम्पनी सञ्चालनमा छन्। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार यस्तो सेवामा विदेशी लगानी सम्भव भए पनि स्पष्ट कानुनी संरचना अझै तयार भएको छैन।
सर्वोच्च अदालतले राइड सेयरिङ सेवाका लागि कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिए पनि हालसम्म स्पष्ट नीति बन्न सकेको छैन। यसअघि यातायात ऐनमा निजी सवारीले भाडा लिन नपाउने व्यवस्था भएकाले यो क्षेत्र कानुनी रूपमा विवादित रहँदै आएको छ।
उबरको नेपाल प्रवेश चासो
