
कम्पनी रजिष्ट्रारको कार्यालयले आम सर्वसाधारणका जिज्ञासा समाधान गर्न एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ। अब कम्पनी दर्ता, प्रशासन र कानुनी प्रक्रियासम्बन्धी जानकारी फोनमार्फत २४ सै घण्टा उपलब्ध हुने भएको छ।
कार्यालयले ९७००००४४१४ नम्बर सञ्चालनमा ल्याउँदै सेवाग्राहीलाई आवश्यक सूचना एआई प्रणालीमार्फत दिने व्यवस्था गरेको हो। उक्त नम्बरमा फोन गरेपछि कम्पनी दर्ता प्रक्रिया, आवश्यक कागजात तथा अन्य प्रशासनिक जानकारी प्राप्त गर्न सकिनेछ।
कार्यालयका सूचना अधिकारी दीपक ज्ञवालीका अनुसार एआई कल सेन्टर सुरु भएसँगै अफिसमा आउने फोन कलको संख्या उल्लेख्य रूपमा घटेको छ। उनका अनुसार अब कम्पनी दर्ता तथा अन्य सेवासम्बन्धी धेरै जानकारी कल सेन्टरबाटै उपलब्ध हुनेछ।
यसअघि यस्ता जानकारी सूचना अधिकारीमार्फत कार्यालय समयभित्र मात्रै दिइन्थ्यो। तर फोनको चाप, समय अभाव र अन्य कामका कारण सेवा प्रभावकारी हुन सकेको थिएन। अब एउटै नम्बरमा धेरै सेवाग्राहीले एकै पटक जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
यो प्रणालीले कार्यालय समयपछि पनि सेवा उपलब्ध गराउने र सेवाग्राहीलाई झन्झटमुक्त सूचना पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
