
सम्पत्ति विवाद चुलिएपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले गृहमन्त्री नियुक्त हुनुभन्दा दुई दिनअघि मात्रै धनकुटामा करिब २० रोपनी जग्गा किनेको तथ्य खुलेको छ।
धनकुटा मालपोत कार्यालयका अनुसार साँघुरीगढी गाउँपालिका–६ स्थित कार्कीछाप क्षेत्रमा रहेको १९ रोपनी १५ आना जग्गा चैत ११ गते वारेसमार्फत् गुरुङको नाममा पास भएको हो। उक्त जग्गा १६७ कित्ता नम्बरमा दर्ता भएको अभिलेखमा उल्लेख छ।
सरकारी मूल्यांकनअनुसार प्रतिरोपनी १७ हजार रुपैयाँ दरले उक्त जग्गाको कुल मूल्य ६ लाख ९० हजार रुपैयाँ देखाइएको छ। सोही आधारमा राजस्व तिरिएको मालपोत कार्यालयले जनाएको छ। तर स्थानीय जनप्रतिनिधि र व्यवसायीहरूले भने त्यस क्षेत्रमा जग्गाको वास्तविक बजार मूल्य निकै बढी रहेको बताएका छन्।
साँघुरीगढी–६ का वडाध्यक्ष यमप्रसाद मगरका अनुसार उक्त क्षेत्रको जग्गा स्थानअनुसार प्रतिरोपनी करिब ३ लाख रुपैयाँसम्ममा किनबेच हुने गरेको छ। केही स्थानीय व्यवसायीले भने ६ देखि ७ लाख रुपैयाँ प्रतिरोपनीसम्म मूल्य पर्ने दाबी गरेका छन्। यदि स्थानीयले भनेअनुसार मूल्य मान्ने हो भने उक्त जग्गाको बजार मूल्य एक करोड रुपैयाँभन्दा माथि पुग्न सक्छ।
यो क्षेत्र पूर्वको चर्चित पर्यटकीय गन्तव्य भेडेटारबाट करिब ३ किलोमिटर उत्तरमा पर्छ। भेडेटार र नमस्ते झरनाको बीचमा पर्ने भएकाले पछिल्लो समय त्यहाँ होटल, रिसोर्ट र पर्यटन लगानी बढ्दै गएको स्थानीयहरू बताउँछन्।
यसअघि पनि गुरुङले जेनजी आन्दोलनपछि करिब ५० दिनको अवधिमा एउटा कम्पनीको ५३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारबाट खरिद गरेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि उनको लगानी स्रोत, सम्पत्ति विवरण र व्यापारी दीपक भट्टसँगको सम्बन्धबारे प्रश्न उठ्न थालेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणपछि विवाद झन् चर्किएको थियो। अन्ततः बढ्दो दबाबपछि बुधबार बिहान प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेको आग्रहमा गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्।
