
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई हतियार सहयोग गरेको हुन सक्ने संकेत गर्दै अमेरिकाले चीनबाट आएको एउटा ‘उपहार’ बोकेको जहाज नियन्त्रणमा लिएको दाबी गरेका छन्।
मंगलबार सिएनबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले जहाजमा रहेका सामग्रीबारे स्पष्ट नखुलाए पनि ती वस्तु सैन्य प्रयोजनका हुन सक्ने संकेत गरे। उनले भने, “हामीले हिजो एउटा जहाज समात्यौं, जसमा केही त्यति राम्रो नभएका वस्तु थिए। सायद चीनबाट आएको उपहार होला।”
ट्रम्पको भनाइले चीन–इरान सम्बन्ध र मध्यपूर्व तनावबारे नयाँ बहस सुरु गरेको छ। यद्यपि, ह्वाइट हाउसले यसबारे थप विवरण सार्वजनिक गरेको छैन। ब्लुमबर्गका अनुसार ट्रम्पको दाबीबारे सोधिएका प्रश्नमा आधिकारिक प्रतिक्रिया दिइएको छैन।
केही पश्चिमा सञ्चारमाध्यमहरूले उक्त जहाजमा सैन्य सामग्री उत्पादनमा प्रयोग हुन सक्ने रसायनहरू रहेको उल्लेख गरेका छन्। यसले इरानलाई मिसाइल वा रक्षा प्रणाली सुदृढ गर्न सहयोग पुग्न सक्ने आशंका गरिएको छ।
चीनले भने यी आरोप अस्वीकार गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकाले नियन्त्रणमा लिएको जहाज विदेशी कन्टेनर जहाज भएको दाबी गर्दै चीनमाथि लगाइएका अनुमान र आरोपलाई अस्वीकार गरे।
यसैबीच ट्रम्पले आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई इरानलाई हतियार नदिन आग्रह गर्दै पत्र लेखेको खुलासा गरेका छन्। उनका अनुसार सीले जवाफमा चीनले त्यस्तो काम नगरेको बताएका थिए।
अमेरिका, चीन र इरानबीच बढ्दो अविश्वासका बीच ट्रम्पको पछिल्लो दाबीले मध्यपूर्वको भू-राजनीतिक तनाव झन् चर्किने संकेत दिएको विश्लेषण गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
