मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

बालेनको काँधमा दुई मन्त्रालय

Author Image
बुधवार, वैशाख ९, २०८३

प्रधानमन्त्री बालेन शाहको जिम्मेवारी फेरि बढेको छ। गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि अहिलेका लागि प्रधानमन्त्री शाहकै मातहतमा आएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ गृहमन्त्री नियुक्त नभएसम्म गृह मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्नेछन्। यसअघि नै उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

सरकार गठनको सुरुवाती चरणमा शाहले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका थिए। पछि श्रममन्त्री हटाइएपछि श्रम मन्त्रालय समेत केही समय प्रधानमन्त्रीकै जिम्मामा परेको थियो।

हाल रामजी यादव श्रममन्त्री र गौरीकुमारी यादव उद्योगमन्त्री बनेपछि ती मन्त्रालयको जिम्मेवारी हस्तान्तरण भइसकेको छ। तर गृहमन्त्रीको राजीनामासँगै प्रधानमन्त्रीको काँधमा फेरि दोस्रो मन्त्रालय थपिएको हो।

यससँगै अहिले प्रधानमन्त्री शाहले रक्षा र गृह गरी दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।