मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

दीपक भट्टले गरेको एउटा मुख्य ‘घोटाला’

Author Image
बुधवार, वैशाख ९, २०८३

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका व्यवसायी दीपक भट्टमाथि धितोपत्र बजारमा ठूलो आर्थिक चलखेल गरेको आरोप लागेको छ। धितोपत्र बोर्डले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उनले बीमा कम्पनीहरू र सम्बद्ध संस्थाको रकम प्रयोग गरेर सेयर किन्ने, कृत्रिम रूपमा मूल्य बढाउने र त्यसबाट लाभ उठाउने काम गरेको देखिएको छ।

प्रतिवेदनमा भट्टले करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको नेपाल रि-इन्स्योरेन्सको सेयर तथा विभिन्न बैंकका ऋणपत्र खरिद गरेको उल्लेख छ। नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकका ऋणपत्र कारोबारमा समेत उनको संलग्नता देखिएको छ।

बोर्डका अनुसार उनले आफ्नै प्रभाव रहेका हिमालयन रि-इन्स्योरेन्स, त्यससँग जोडिएका माइक्रो इन्स्योरेन्स कम्पनीहरू तथा अन्य लगानी संस्थाको रकम प्रयोग गरेका थिए। एउटै ‘आइपी एड्रेस’बाट धेरै कम्पनीका कारोबार सञ्चालन भएको तथ्य पनि प्रतिवेदनमा उल्लेख छ।

यसरी आपसमा मिलेमतोमा खरिदबिक्री गरेर निश्चित कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाइएको निष्कर्ष बोर्डले निकालेको छ। यसमा अन्य केही व्यवसायी र निकट व्यक्तिहरूको समेत सहयोग रहेको दाबी गरिएको छ।

प्रतिवेदनअनुसार धेरै कारोबार उधारोमा भएको थियो। ब्रोकर कम्पनीहरूले भट्ट समूहबाट अर्बौं रुपैयाँ उठाउन बाँकी रहेको र उनीहरूले पनि ब्रोकरलाई ठूलो रकम तिर्न बाँकी रहेको देखिएको छ।

यसैबीच, सुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहँदा आफ्नै छोराको नाममा सेयर सारेर बिक्री गरेको तथ्य पनि बोर्डको अर्को अध्ययनले फेला पारेको छ। प्राप्त रकमको ठूलो हिस्सा पुनः सुलभकै खातामा फर्किएको उल्लेख गरिएको छ।

धितोपत्र बजारमा संगठित रूपमा गरिएको यस्तो चलखेललाई पछिल्लो समयको ठूलो आर्थिक घोटालामध्ये एक मानिएको छ।