मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

३ हजार सुकुम्बासी सम्पर्कमा, १५ सय बालबालिका

Author Image
सोमवार, वैशाख १४, २०८३

बस्तीमा डोजर चलेपछि डर र अन्योलमा छरिएका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आउने क्रम तीव्र बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म ८२२ परिवारका ३ हजार ३ सय ६७ जनाले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। तीमध्ये झन्डै १५ सय बालबालिका रहेको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरालगायत बस्ती हटाइएपछि विस्थापित परिवारहरू अहिले सहायता खोज्दै रंगशाला पुगिरहेका छन्। शनिबार बिहानै प्रहरीले माइकिङ गर्दै बस्ती खाली गराउन थालेपछि धेरै परिवार सामानसहित विभिन्न स्थानमा सरेका थिए।

सरकारले दशरथ रंगशालामा हेल्प डेस्क स्थापना गरी आवास र खानपिन व्यवस्था गर्न नसकेका परिवारको विवरण संकलन गरिरहेको छ। दर्तापछि उनीहरूलाई पाँच वटा होल्डिङ सेन्टर, होटल र लजमा राख्ने व्यवस्था गरिएको छ।

रंगशालामा स्वास्थ्य परीक्षण, खाना वितरण र व्यवस्थापनको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ। थापाथलीबाट विस्थापितहरू धेरैजसो पुगिसकेका छन् भने सिनामंगल, गैरीगाउँ, शान्तिनगरलगायत क्षेत्रबाट आउने क्रम अझै जारी छ।