मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

शिक्षामा २० प्रतिशत बजेट लगानी गर्न आग्रह

Author Image
मङ्गलवार, वैशाख १५, २०८३

अन्तर्राष्ट्रिय शिक्षक महासङ्घ (एजुकेसन इन्टरनेसनल) मा आबद्ध नेपालका चार शिक्षक तथा कर्मचारी सङ्गठनले निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि शिक्षामा राष्ट्रिय बजेटको २० प्रतिशत वा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत लगानी गर्न सरकारसँग आग्रह गरेका छन्।

ती सङ्गठनले तीन दिने ‘सेपिङ द एजुकेसन बजेट’ सम्मेलनको समापनमा १४ बुँदे मागपत्र सार्वजनिक गर्दै शिक्षामा लगानी वृद्धि, शिक्षाकर्मीहरूको श्रम अधिकार सुनिश्चितता, सम्मानजनक कार्य अवस्था, गुणस्तरीय तालिम तथा व्यावसायिक विकासमा लगानी गर्न माग गरेका हुन्।

नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंशबहादुर शाही, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा र नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले संयुक्त रूपमा मागपत्र सार्वजनिक गरेका थिए।

कार्यक्रममा एजुकेसन इन्टरनेसनलका एसिया प्रशान्त क्षेत्रीय निर्देशक आनन्द सिंहले नेपाली शिक्षक र विद्यालय कर्मचारीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारले शिक्षा क्षेत्र र शिक्षकहरूको पेसागत हितमा थप लगानी गर्नुपर्ने बताए।