
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल आइपुगेका छन्। उनी बिहीबार साँझ ६ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौं आइपुगेका हुन्।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरको यो भ्रमणलाई नेपाल–अमेरिका सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ। कूटनीतिक वृत्तमा अमेरिकाले नेपालसँगको सम्बन्धलाई पुनः प्राथमिकतामा राख्न खोजेको चर्चा सुरु भएको छ।
गोरले भ्रमणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, क्षेत्रीय सुरक्षा तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
