मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

बेलडाँगीमा ‘दियालो’को पाँचौँ उत्सव: शरणार्थी संवेदना, साहित्य र संस्कृतिको सशक्त संगम

Author Image
आइतवार, वैशाख २०, २०८३

भुटानी नेपालीभाषी साहित्यको प्रवर्द्धन, स्रष्टाहरूको सम्मान र समुदायभित्रको सांस्कृतिक चेतनालाई बलियो बनाउने उद्देश्यसहित ‘द लिटरेरी सोसाइटी अफ भुटान’ (LSB) द्वारा आयोजित ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव शनिबार बेलडाँगीस्थित LSB पुस्तकालयमा भव्य रूपमा सम्पन्न भएको छ। देशप्रेम, कला र साहित्यप्रतिको गहिरो लगाव बोकेका सहभागीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम संस्थाका सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न भएको हो।

उत्सवको प्रमुख आकर्षणका रूपमा संस्थाको वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को पाँचौँ अङ्क सार्वजनिक गरिएको थियो। साथै, रचना वाचन र विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन भुटानी नेता तथा लेखक बालाराम पौडेल, विशेष अतिथि साहित्यकार सुमित्रा वाङ्देल चेली र सभाध्यक्ष तिलक राईले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उद्घाटन सत्रको सुरुवातमा संस्थाका सचिव बीरेन्द्र मगरले स्वागत मन्तव्य राख्दै सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक स्वागत व्यक्त गर्नुभयो। कार्यक्रममा साहित्य, कला, मानव अधिकार र समाजसेवाका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रहेको थियो। शिविर सचिव सञ्चहाङ सुब्बा, हिमाली रोधी सांस्कृतिक परिवारका अध्यक्ष कुमार गुरुङ, SCAP का अध्यक्ष नरबहादुर गुरुङ तथा सचिव नरेश राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी, मानव अधिकार अभियन्ता डमला प्रसाद अधिकारी, गायक बलराम मगर र जंगबहादुर दर्जी, समाजसेवी तथा शिक्षक जेबी भट्टराई, रोहित महत र कविराज मगरले पनि कार्यक्रममा उपस्थिति जनाउँदै कार्यक्रमलाई थप गरिमामय बनाउनुभएको थियो।

झापा जिल्लाका विभिन्न स्थानहरू: दमक, धरमपुर र कमल गाउँपालिका लगायतबाट आएका साहित्यकारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई व्यापकता दिएको थियो। दमकबाट जीवन वेगा, चोमु शेर्पा, डोल्मा शेर्पा, करण कुमार र देबु चापागाई सहभागी हुनुहुन्थ्यो भने धरमपुरबाट मुकुन्द लामिछाने र अनिता लामिछाने तथा कमल गाउँपालिकाबाट राजन चापागाई लगायत अन्य स्रष्टाहरूको उपस्थिति रहेको थियो। याम थुलुङ, शरण कुमार र सर्मिला गुरुङजस्ता स्रष्टाहरूले पनि अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो।

कार्यक्रममा साहित्यकार दिल भूटानीले यस्तो उत्सव केवल साहित्यिक जमघटमा सीमित नभई भुटानी समुदायभित्र लुकेका प्रतिभाहरू उजागर गर्ने र कला अनुरागीहरूबीच सहकार्य बढाउने महत्वपूर्ण मञ्च बनेको बताउनुभयो।

‘दियालो’को पाँचौँ अङ्कमा कथा, कविता, गजल र संस्मरणका विविध विधामा आधारित रचनाहरू समावेश गरिएको छ। प्रधान सम्पादक तिलक राईको नेतृत्वमा प्रकाशित उक्त अङ्कमा दिल भूटानी, अविलाल राई, थिरु घिमिरे ‘विकल्प’, पवित्र सुब्बा, सर्मिला गुरुङ, पुलमाया गुरुङ, वैदिक अत्री, अशोक शर्मा, तिला लेकाली लगायतका स्रष्टाहरूका कृतिहरू संकलित छन्। पत्रिकाले भुटानी नेपालीभाषी समुदायको विस्थापन, पहिचान संकट, मातृभूमिप्रतिको तड्पन र प्रवासी जीवनका विविध अनुभूतिहरूलाई साहित्यिक अभिव्यक्तिमार्फत सशक्त रूपमा प्रस्तुत गरेको छ। सन् २०२१ मा स्थापना भएको संस्थाले हरेक वर्ष यस पत्रिकाको नियमित प्रकाशन गर्दै आएको छ।

विशेष अतिथि सुवित्रा वाङ्देल चेलीले शिविरकालीन साहित्यिक अभियानले देश र माटोको आवाजलाई जोगाइराखेको उल्लेख गर्दै सरकारबाट समाधानमुखी नीतिगत पहल हुने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रममा वक्ताहरूले यस्ता साहित्यिक गतिविधिहरूले भाषा, संस्कृति र पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।

रचना वाचन सत्रमा सर्मिला गुरुङ, देबु चापागाई, वैदिक अत्री, मुकुन्द लामिछाने र हर्कराज राईले कविता, कथा र गजल प्रस्तुत गर्नुभयो, जसले उपस्थित दर्शकहरूलाई गहिरो भावनात्मक अनुभूति दिलाएको थियो। सांस्कृतिक प्रस्तुतिमा चोमु शेर्पा, जंगबहादुर दर्जी, दिवास गुरुङ तथा उनका साथीहरू दिपशिखा र बुद्धीमाया राई, बलराम मगर र विरेन विश्वाले गीत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन साहित्यकार अविलाल राईले गर्नुभएको थियो। प्रमुख अतिथि बालाराम पौडेलले शिविरभित्रको उपस्थितिलाई मातृभूमिको अनुभूति जस्तै भएको बताउँदै भुटान सरकारको जातीय दमनका कारण शरणार्थी अवस्था सिर्जना भएको धारणा राख्नुभयो। उहाँले ऐतिहासिक आन्दोलन र त्यसको पृष्ठभूमि स्मरण गर्दै नेपाल सरकारप्रति आशा व्यक्त गर्नुभयो र दुई शिविरबीच एकता कायम गरी साझा आवाज उठाउनुको आवश्यकता औंल्याउनुभयो।

बेलडाँगी शिविरमा सन् २०२३ देखि सञ्चालनमा आएको LSB पुस्तकालय यस उत्सवको केन्द्रबिन्दुका रूपमा स्थापित हुँदै आएको छ। विभिन्न स्रोतबाट प्राप्त पुस्तकहरूले समृद्ध यो पुस्तकालयले पाठकहरूलाई अध्ययन र चिन्तनको अवसर प्रदान गर्दै आएको छ। संस्थाका उपाध्यक्ष दिल भूटानीले पुस्तकालयलाई अझ समृद्ध बनाउन पाठक तथा स्रष्टाहरूलाई आफ्ना कृति उपलब्ध गराउन अपील गर्नुभयो।

शिविर सचिव सञ्चहाङ सुब्बाले कार्यक्रममा बोल्दै नक्कली शरणार्थी प्रकरणले वास्तविक पीडितहरूको पहिचान ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो र नेपाल सरकारप्रति गम्भीर प्रश्न उठाउनुभयो।

समापन मन्तव्यका क्रममा सभाध्यक्ष तिलक राईले आगामी छैटौँ यात्राको सुरुवातबारे संकेत गर्दै सम्पूर्ण अतिथि, विशेषगरी सुवित्रा वाङ्देल चेली लगायत स्रष्टाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संस्थाको मूल उद्देश्य साहित्यमार्फत मातृभूमिसँगको सम्बन्धलाई मजबुत बनाउनु र सिर्जनशील ज्ञानलाई पुस्तान्तरण गर्नु भएको स्पष्ट पार्नुभयो।

आयोजकका अनुसार ‘दियालो’ पत्रिका नेपाली भाषा, साहित्य र सिर्जनशीलताको प्रवर्द्धनमा महत्वपूर्ण पहलका रूपमा स्थापित हुँदै गएको छ। यस अङ्कमा प्रा. डा. गोविन्दराज भट्टराई तथा असम, चेजपुरका वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्रीको स्मरण पनि समेटिएको छ।

उत्सवले बेलडाँगीलाई झापा जिल्लाकै एक महत्वपूर्ण साहित्यिक केन्द्रका रूपमा पुनः स्थापित गरेको छ।