मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

सर्तसहित कंग्रेसको समर्थन, विजयलाई अझै बहुमत अपुग

Author Image
बुधवार, वैशाख २३, २०८३

काठमाडौँ। तमिलनाडूमा थालापति विजय नेतृत्वमा बन्ने सरकारलाई कंग्रेस आईले समर्थन गर्ने घोषणा गरेको छ। कंग्रेसका तमिलनाडू प्रमुख गिरिश चोडनकरले बुधबार विज्ञप्ति जारी गर्दै ‘तमिझगा वेत्री कजगम’ (टिभिके) नेतृत्वको सरकारलाई समर्थन रहने बताएका हुन्।

यद्यपि कंग्रेसले समर्थनसँगै स्पष्ट सर्त राखेको छ। भारतको संविधानमा विश्वास नराख्ने साम्प्रदायिक शक्तिहरूलाई गठबन्धनबाट टाढा राख्नुपर्ने उसको अडान छ।

तमिलनाडूमा सरकार गठनका लागि ११८ सांसदको समर्थन आवश्यक पर्छ। टिभिकेले १०८ सिट जितेको छ। विजय आफैं दुई सिटबाट निर्वाचित भएकाले एउटा सिट त्याग्नुपर्ने हुन्छ र त्यहाँ पुनः निर्वाचन गर्नुपर्ने हुन्छ। त्यसैगरी सभामुख चयन भएपछि विश्वासको मतमा मतदान नगर्ने भएकाले प्रभावकारी संख्या झण्डै १०६ मा झर्ने देखिन्छ।

यसले कंग्रेसको समर्थन मात्र सरकार गठनका लागि पर्याप्त नहुने स्पष्ट देखिन्छ। कंग्रेसले ५ सिट जितेको छ। उसको समर्थन जोडिँदा संख्या ११३ पुग्छ, जुन बहुमतभन्दा अझै कम हो। त्यसैले टिभिकेलाई थप कम्तीमा १० सांसदको समर्थन आवश्यक पर्ने अवस्था छ।

टिभिकेले बहुमत नपुगेपछि कंग्रेससँग औपचारिक रूपमा समर्थन मागेको थियो। कंग्रेसले तमिलनाडूका जनताले धर्मनिरपेक्ष, प्रगतिशील र कल्याणकारी सरकारका पक्षमा जनादेश दिएको उल्लेख गर्दै त्यसको सम्मान गर्नु आफ्नो संवैधानिक दायित्व भएको जनाएको छ।

साथै, सम्भावित सहकार्य आपसी सम्मान, उचित हिस्सेदारी र साझा जिम्मेवारीमा आधारित हुने कंग्रेसको भनाइ छ। यो सहकार्य आगामी स्थानीय तह, लोकसभा र राज्यसभा निर्वाचनसम्म विस्तार हुन सक्ने संकेतसमेत गरिएको छ।

कंग्रेसले ऐतिहासिक सन्दर्भ जोड्दै कामराजको नेतृत्वकाल जस्तै विकासको युग फर्काउने र पेरियारको सामाजिक न्याय तथा डा. भीमराव अम्बेडकरका संवैधानिक मूल्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यद्यपि हालको अंकगणित अनुसार टिभिके–कंग्रेस गठबन्धनले मात्र बहुमत पुर्‍याउन नसक्ने स्पष्ट छ। साना दल र स्वतन्त्र सांसदहरूको भूमिका निर्णायक हुने देखिएकाले विजय नेतृत्वको टिभिकेलाई थप समर्थन जुटाउनुपर्ने अवस्था रहेको छ। अन्यथा तमिलनाडूको सत्ता समीकरण अझै अनिश्चित रहने देखिन्छ।