
चीनले इरानलाई अमेरिकासँगको तनाव फेरि युद्धतर्फ नबढाउन आग्रह गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले चीन भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अराग्चीसँगको भेटमा स्थायी युद्धविरामतर्फ अघि बढ्न र अमेरिकासँग वार्ता जारी राख्न जोड दिएका छन्।
बेइजिङमा भएको भेटमा वाङले व्यापक युद्धविराममा ढिलाइ गर्न नहुने, शत्रुतापूर्ण गतिविधि पुनः सुरु गर्नु उचित नहुने र संवादलाई निरन्तरता दिनु अत्यन्त आवश्यक रहेको बताएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले इरानमाथि कूटनीतिक दबाब बढाउँदै युद्धको अवस्था नियन्त्रणमा राख्न पहल गरेको हो।
हालै संयुक्त अरब इमिरेट्समाथि इरानले थप आक्रमण गरेको र स्ट्रेट अफ हर्मुज क्षेत्रमा जहाज आवतजावतलाई लिएर तनाव बढेको सन्दर्भमा चीनको यो पहल आएको हो।
यसबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प निकट भविष्यमा चीन भ्रमणमा जाने तयारीमा छन्। इरानसँगको तनावका कारण केही समयअघि स्थगित भएको भ्रमण पुनः तय हुन लागेको अवस्थामा चीनले क्षेत्रीय द्वन्द्व नचर्कियोस् भन्ने चाहना राखेको विश्लेषण गरिएको छ।
इरानसँग वार्ता जारी राख्दै चीनले रूससँग पनि समन्वय बढाइरहेको बताइएको छ। यही महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको सम्भावना रहेको छ, जसले क्षेत्रीय कूटनीतिक गतिविधि थप सक्रिय हुने संकेत गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
