मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

१५ दिनदेखि गृहमन्त्रालय प्रधानमन्त्रीकै हातमा, गुरुङमाथि छानबिन अघि बढेन

Author Image
बुधवार, वैशाख २३, २०८३

गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि नयाँ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। विवादपछि पद त्यागेका गुरुङमाथि लागेका आरोपबारे समेत न सरकार र न उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन प्रक्रिया अघि बढाएको छ।

बिचौलिया दीपक भट्टसँग सेयर लगानीसम्बन्धी विषय उठेपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए। तर त्यसयता उनीमाथि औपचारिक छानबिन सुरु भएको छैन। वैशाख २० गते बसेको रास्वपा सचिवालय बैठकमा पनि यस विषयमा छलफल नभएको प्रवक्ता मनिष झाले बताएका छन्। उनका अनुसार वैशाख २८ गतेका लागि बोलाइएको संसद् बैठकमा छानबिन समिति गठनबारे छलफल हुन सक्ने सम्भावना छ।

यसअघि पार्टीको अनुशासन आयोगले पनि गुरुङसम्बन्धी छानबिन प्रक्रिया अघि नबढेको जनाएको थियो। राजीनामाअघि केन्द्रीय समितिको निर्णय कुरिरहेको आयोगले स्पष्टता नपाउँदा प्रक्रिया रोकिएको बताइएको छ।

गुरुङको राजीनामापछि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह आफैंले सम्हालिरहेका छन्। तर लामो समयसम्म मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा रहँदा सरकारभित्रै असन्तुष्टि बढ्दै गएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार पार्टी सभापति रवि लामिछानेले आफ्ना निकटकालाई गृहमन्त्री बनाउन चाहेका छन्। गुरुङले राजीनामा दिँदा महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहराले पनि दाबी गरेका थिए। तर प्रधानमन्त्री शाह मन्त्रालयको जिम्मेवारी अरुलाई दिन इच्छुक नदेखिएको बताइन्छ।

यता, गुरुङमाथि लागेको आरोपको छानबिनपछि उनी पुनः गृहमन्त्रीमा फर्किन सक्ने चर्चा समेत चल्न थालेको छ। स्रोतका अनुसार उनले आफूले नै बालेन शाह र रवि लामिछानेबीच समन्वय गराएको दाबी गर्दै आएका छन्।

रास्वपाभित्र भने नेतृत्वबीचको मतभेद स्पष्ट देखिएको छ। यसअघि पनि गृहमन्त्री चयनमा रवि लामिछानेले डोलप्रसाद अर्याललाई अघि सारेका थिए भने बालेन शाहले सुनिल लम्साललाई समर्थन गरेका थिए। अन्ततः सहमति नजुट्दा गुरुङलाई गृहमन्त्री बनाइएको थियो।

हाल पनि मन्त्रालयको कामकाजमा गुरुङ निकट टोलीकै प्रभाव देखिएको स्रोतको दाबी छ। गुरुङ मन्त्री हुँदा स्वकीय सचिव रहेका जेम्स कार्कीले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालमार्फत प्रधानमन्त्रीलाई सहयोग गरिरहेको बताइन्छ। औपचारिक रूपमा प्रधानमन्त्रीले जिम्मेवारी लिए पनि मन्त्रालयभित्रको काम अन्य माध्यमबाट सञ्चालन भइरहेको बुझिएको छ।

गुरुङका समर्थकहरूले राजीनामा फिर्ताको माग गर्दै सडक प्रदर्शनसमेत गरेका छन्। यसले मन्त्रालयको जिम्मेवारी हस्तान्तरणमा थप जटिलता सिर्जना गरेको छ।

राजीनामा दिँदा गुरुङले आफूविरुद्ध लागेका आरोप अस्वीकार गर्दै निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा पद त्यागेको बताएका थिए। उनले पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका थिए।

गत वर्षको जेनजी आन्दोलनबाट चर्चामा आएका गुरुङ गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए र चैत १३ गते गृहमन्त्री बनेका थिए। पद सम्हाले लगत्तै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लगाएर चर्चा कमाएका थिए। तर व्यापारी दीपक भट्टसँग सम्बन्धित प्रकरण बाहिरिएपछि उनीमाथि नैतिक प्रश्न उठ्दै अन्ततः पद छाड्न बाध्य भएका थिए ।