
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेका गलत अभ्यास प्रदेश र स्थानीय सरकारले नदोहोर्याउन आग्रह गरेका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘ग्रिन टेबल’ छलफल कार्यक्रममा बोल्दै थापाले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने कार्य स्वीकार्य नहुने बताए।
उनले डोजरको त्रास र हल्लाका भरमा होइन, कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिए। “कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्न हुँदैन,” थापाको भनाइ थियो।
सभापति थापाले दशकौँदेखि जटिल बनेको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई मानवीय र योजनाबद्ध ढंगले समाधान गर्नुपर्ने बताए। वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।
यस विषयमा कांग्रेसले छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै थापाले ‘ग्रिन टेबल’ छलफलबाट आएका सुझावका आधारमा प्रदेश र स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने बताए।
कांग्रेसले ‘ग्रिन टेबल’ कार्यक्रममार्फत नीति निर्माण र जनसरोकारका विषयमा खुला संवादलाई अघि बढाएको जनाएको छ। विज्ञ र सरोकारवालासँग प्रत्यक्ष बहस गर्ने यो शैलीलाई राजनीतिक वृत्तमा नयाँ अभ्यासका रूपमा हेरिएको छ।
