मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

कोलम्बसमा अन्तरराज्यीय मदर्स डे फुटबल प्रतियोगिता हुँदै, टाईगर मम्स ह्यारिसवर्ग उत्साहित

Author Image
आइतवार, वैशाख २७, २०८३

अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस शहरमा आगामी मे ९ र १०, २०२६ मा “इन्टर स्टेट मदर्स डे सकर प्रतियोगिता” आयोजना हुने भएको छ। आमाहरूको स्वास्थ्य, आत्मविश्वास, नेतृत्व क्षमता र सामुदायिक एकतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न राज्यका मम्स टोलीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा पेन्सिल्भेनियाको ह्यारिसवर्गस्थित “टाईगर मम्स ह्यारिसवर्ग” टोलीले पनि सहभागिता जनाउने भएको छ। टोलीले विभिन्न राज्यका मम्स टिमहरूसँग प्रतिस्पर्धात्मक खेल खेल्नेछ। आयोजकका अनुसार प्रतियोगितामार्फत आमाहरूको सक्रियता, क्षमता र नेतृत्व भूमिकालाई उजागर गर्ने उद्देश्य राखिएको छ।

टाईगर मम्स ह्यारिसवर्गकी संस्थापक तथा टिम म्यानेजर देविका बराल समुदायमा प्रेरणादायी महिलाका रूपमा परिचित छिन्। भुटानमा जन्मिएकी बराल बाल्यकालमै परिवारसहित शरणार्थी जीवन बिताउन बाध्य भएकी थिइन्। उनले १८ वर्ष शरणार्थी शिविरमा बिताएकी हुन्। त्यसपछि अमेरिका पुगेपछि उनले संघर्ष, मेहनत र समर्पणमार्फत आफ्नो परिवारको भविष्य निर्माण गरेकी छन्।

अमेरिकामा प्रारम्भिक समयमा उनले अस्पतालहरूमा दोभाषेको रूपमा काम गरिन्। त्यसपछि रियल स्टेट क्षेत्रमा प्रवेश गर्दै निरन्तर मेहनतबाट सेन्ट्रल पेन्सिल्भेनियाकी सफल तथा चर्चित रियल्टरका रूपमा आफूलाई स्थापित गरिन्।

व्यावसायिक सफलतासँगै उनी एक असल आमा, पत्नी तथा परिवारको जिम्मेवार सदस्यका रूपमा पनि परिचित छिन्। देविका बराल सेन्ट्रल पेन्सिल्भेनियामा कुशल कार्यक्रम सञ्चालक (एमसी) का रूपमा समेत चिनिन्छिन्। उनले विभिन्न सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा सहकार्य गर्दै सफल कार्यक्रम सञ्चालन गरिसकेकी छन्।

हाल उनी “टाईगर मम्स ह्यारिसवर्ग” टोलीको नेतृत्व गर्दै महिलाहरूलाई खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय बन्न प्रेरित गरिरहेकी छन्। गत वर्ष एक्रोनमा सम्पन्न प्रतियोगितामा टोलीले दोस्रो स्थान हासिल गरेको थियो। यस वर्ष पनि उनको नेतृत्वमा टोली कोलम्बसमा हुने प्रतियोगिताका लागि उत्साहित देखिएको छ।

नेपाली–भुटानी समुदायमा आमाहरूलाई परम्परागत रूपमा घरपरिवारमा सीमित राख्ने सोच अझै कतिपय ठाउँमा देखिए पनि देविका बरालजस्ता महिलाहरूले खेलकुद, व्यवसाय, नेतृत्व र सामाजिक क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै पुराना सोच परिवर्तन गरिरहेका छन्।

शरणार्थी शिविरको संघर्षपूर्ण जीवनदेखि सफल रियल्टर, सम्मानित एमसी, सामुदायिक अगुवा र प्रेरणादायी महिलासम्मको देविका बरालको यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

भुटानी समुदायसँग सम्बन्धित समाचार तथा जानकारीका आधारमा यो सामग्री तयार पारिएको हो।