
प्रधानमन्त्री बालेन शाह राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम वाचन भइरहेकै बेला संसद् बैठकबाट उठेर बाहिरिएपछि प्रतिनिधिसभामा विवाद र चर्चा चुलिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह अचानक उठेर बाहिरिएका थिए। सामान्यतया राष्ट्रपतिको उपस्थितिमा हुने बैठकमा राष्ट्रपतिले सभा छाडेपछि मात्रै अन्य व्यक्तिहरू बाहिरिने संसदीय अभ्यास रहँदै आएको छ।
यस विषयमा साँझ बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले आपत्ति जनाउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमप्रति अपनत्व राख्छन् वा राख्दैनन् भन्ने प्रश्न उठाए। उनले प्रधानमन्त्रीले राष्ट्रिय पोशाक नलगाएको विषयमा पनि सभामुखमार्फत रुलिङ माग गरे।
बरालले राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले अर्का मन्त्रीसँग लगातार संवाद गरेको र त्यसको दृश्य संसद् अभिलेखबाट हटाउनुपर्ने माग समेत गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विषयबारे सचिवालयलाई बुझ्न निर्देशन दिएका छन्।
त्यसपछि प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रमको प्रति संसद्मा टेबल गरे पनि कुनै सम्बोधन नगरी कागजात राखेर तत्काल बैठक कक्षबाट बाहिरिएका थिए। उनी फटाफट बाहिरिएको दृश्य देखेपछि सांसदहरूबीच हाँसो फैलिएको थियो भने केहीबेर सभामुखले बैठक नै रोकेका थिए।
प्रधानमन्त्री बनेपछि शाहले संसद्मा हालसम्म औपचारिक सम्बोधन नगरेको र संसदीय परम्पराप्रति कम रुचि देखाएको भन्दै विपक्षी दलहरूले आलोचना गर्दै आएका छन्।

