
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले चिनियाँ राष्ट्रपति सी चिनफिङ सँगको भेटमा इरान लाई दिइरहेको सहयोग कटौती गर्न आग्रह गर्ने भएका छन्। ट्रम्प दुई दिने भ्रमणका लागि बुधबार चीन जाँदै छन्।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएअनुसार ट्रम्पले इरानलाई सैन्य तथा गैरसैनिक प्रयोजनमा प्रयोग हुने सामग्रीको निर्यात रोक्न चीनमाथि दबाब दिने तयारी गरेका छन्। यसअघि व्यापार सम्झौतालाई अन्तिम रूप दिन तय गरिएको ट्रम्पको चीन भ्रमण इरानसँगको युद्धका कारण स्थगित भएको थियो।
यसैबीच अमेरिका र इरानबीच युद्ध अन्त्य तथा आणविक कार्यक्रमबारे वार्ता जारी छ। अमेरिकाले पठाएको १४ बुँदे समझदारी प्रस्तावमा इरानले प्रतिक्रिया पठाएपछि ट्रम्पले त्यसलाई “अस्वीकार्य” बताएका छन्।
अमेरिकाको प्रस्तावमा ३० दिनभित्र विस्तृत वार्ता गर्दै हर्मुज जलडमरूमध्य खोल्ने, इरानको आणविक कार्यक्रम सीमित गर्ने र प्रतिबन्ध क्रमशः हटाउने विषय समेटिएको छ। तर इरानले तत्काल प्रतिबन्ध हटाउन, नौसैनिक नाकाबन्दी अन्त्य गर्न र आफ्ना रोक्का सम्पत्ति फुकुवा गर्न माग गरेको बताइएको छ।
आणविक कार्यक्रमकै विषय अहिले वार्ताको सबैभन्दा पेचिलो मुद्दा बनेको छ। अमेरिकाले लामो समयसम्म युरेनियम प्रशोधन रोक्न दबाब दिइरहेको छ भने इरान सीमित अवधिका लागि मात्र सहमत देखिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
