मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

मोदीले किन भने – सुन नकिन्नुस्, तेल कम खानुस् ?

Author Image
मङ्गलवार, वैशाख २९, २०८३

नरेन्द्र मोदी ले भारतको विदेशी मुद्रा जोगाउन जनतालाई एक वर्षसम्म सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आग्रह गरेका छन्। तेलङ्गानाको सिकन्दरावादमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वव्यापी युद्ध, महँगी र आपूर्ति प्रणालीमा आएको संकटका कारण भारतमाथि आर्थिक दबाब बढेको बताएका हुन्।

मोदीका अनुसार भारत सँग पर्याप्त तेल स्रोत नभएकाले पेट्रोल, डिजेल, ग्यास र मलजस्ता वस्तु ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्छ। अहिले इरान–अमेरिका युद्ध र अन्तर्राष्ट्रिय तनावका कारण कच्चा तेलको मूल्य अत्यधिक बढेकाले विदेशी मुद्रा धेरै खर्च भइरहेको उनले बताए।

उनले नागरिकलाई देशभक्तिको भावनासहित खर्चमा संयम अपनाउन आग्रह गर्दै भने, “देशका लागि मर्नु मात्रै देशभक्ति होइन, देशका लागि बाँच्नु र आफ्नो कर्तव्य निभाउनु पनि देशभक्ति हो।”

मोदीले विशेषगरी खाने तेलको प्रयोग घटाउन आग्रह गर्दै यसले देशको विदेशी मुद्रा बच्नुका साथै जनस्वास्थ्यमा पनि फाइदा पुग्ने बताए।

त्यस्तै उनले सुन खरिदमा ठूलो विदेशी मुद्रा खर्च हुने भन्दै एक वर्षसम्म घरमा कुनै कार्यक्रम भए पनि सुनका गहना नकिन्न अपिल गरे। “एक समय देश संकटमा पर्दा मानिसहरूले सुन दान गर्थे, अहिले दान आवश्यक छैन तर सुन नकिनेर पनि देशलाई सहयोग गर्न सकिन्छ,” उनले भने।

यस विषयमा Indian National Congress ले भने मोदीको कडा आलोचना गरेको छ। कांग्रेसका महासचिव केसी वेणुगोपालले सरकारले ऊर्जा सुरक्षा र अर्थतन्त्र जोगाउने ठोस योजना ल्याउनुको सट्टा जनतालाई नै बोझ थोपरेको आरोप लगाएका छन्।

यसैबीच इरान–अमेरिका तनाव, विश्वव्यापी अस्थिरता र डलरमाथिको निर्भरता घट्दै जाँदा सुनको मूल्य विश्वभर लगातार बढिरहेको छ। चीन, भारत, टर्कीलगायत देशका केन्द्रीय बैंकहरूले सुनको भण्डारण बढाइरहेका छन्, जसले पनि सुनको मूल्यलाई नयाँ उचाइमा पुर्‍याएको विश्लेषण गरिएको छ।