मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

प्रधानमन्त्री गायब, प्रतिपक्ष आक्रोशित, बैठक अवरुद्ध

Author Image
बिहिवार, वैशाख ३१, २०८३

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएलगत्तै प्रतिनिधिसभामा नयाँ विवाद चर्किएको छ। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गर्दै संसदमा विरोध जनाएका छन्।

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राख्दै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्। उनीहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म संसद बैठक अगाडि बढ्न नदिने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको कार्यसूचीमा भने नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने उल्लेख गरिएको छ। जबकि यसअघि सार्वजनिक गरिएको कार्यसूचीमा प्रधानमन्त्री स्वयंले जवाफ दिने भनिएको थियो।

यस विषयलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्री शाह संसदप्रति गैरजिम्मेवार र उत्तरदायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा संसदमा उठेका गम्भीर प्रश्नको सामना प्रधानमन्त्रीले नै गर्नुपर्छ।

प्रधानमन्त्री शाह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै रहे पनि संसद भवन पुगेका छैनन्। यसअघि पनि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला उनी संसद छाडेर बाहिरिएका थिए। त्यस्तै विपक्षी दलका नेताहरूले सम्बोधन गरिरहँदा समेत उनी अनुपस्थित देखिएका थिए।