
मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई अफवाह फैलाएको आरोपमा सोमबार दिउँसो वीरगन्जस्थित एक होटलबाट पक्राउ गरिएको हो।
प्रहरीका प्रवक्ता एवं डिएसपी हरिबहादुर बस्नेतले केही विषयमा सोधपुछ गर्न आवश्यक परेकाले पक्राउ गरिएको बताए। तर कुन विषयमा अनुसन्धान भइरहेको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।
प्रसाईं गहवामाई मन्दिर दर्शनसहित विभिन्न कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए।
उनी पक्राउ परेपछि उनका समर्थकहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।
