
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्।
सोमबार बसेको एमाले सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि संकट आइपरेको बेला पुनर्गठनको बहस उठाउनु अराजक गतिविधि भएको टिप्पणी गरेका हुन्।
बैठकमा झन्डै एक घण्टा बोलेका ओलीले पार्टी कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै अनुशासन उल्लंघन गर्नेहरूमाथि कारबाही गरिने संकेत दिएको एक पदाधिकारीले बताएका छन्।
ती नेताका अनुसार अध्यक्ष ओलीले पार्टी, नेतृत्व र आन्दोलन अप्ठ्यारो अवस्थामा रहेका बेला पुनर्गठनको बहस उठाउनु गलत भएको बताएका थिए।
यद्यपि उनले कसैको नाम स्पष्ट रूपमा लिएनन्। तर बैठकमा व्यक्त गरेको आक्रोश पार्टी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई तथा नेता सुरेन्द्र पाण्डेतर्फ लक्षित रहेको एमाले नेताहरूको भनाइ छ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा ल्याएपछि एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किएको छ। संस्थापन पक्षकै केही नेताहरूले अध्यक्ष ओलीले अब विकल्प दिनुपर्ने धारणा राख्दै आएका छन्।
बैठकमा अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईले प्रतिवाद गर्दै “अब तपाईंले के जित्नुपर्ने छ?” भन्दै प्रश्न उठाएको स्रोतले जनाएको छ। अन्य केही सदस्यहरूले पनि पुनर्गठनको बहसलाई दबाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए।
बैठकमा पुनर्गठनको पक्षमा उठेका आवाजमाथि कारबाहीको कुरा भएपछि नेताहरूबीच चर्काचर्कीसमेत भएको बताइएको छ।
एमाले सचिवालयको अर्को बैठक आगामी शुक्रबार बस्नेछ। बैठकमा ११ वटा कार्यसूची तय गरिएको छ। सोमबारकै बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको थियो।
