
इङ्ल्यान्डको प्रिमियर लिगमा जब एउटा अग्लो, बलियो र लामो पहेँलो कपाल भएको खेलाडी आँधीजस्तै मैदान चिर्दै अगाडि बढ्छन्, तब विपक्षी डिफेन्डरहरूका लागि उनलाई रोक्नु दुःस्वप्नजस्तै बन्ने गर्छ। उनी हुन् — नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्ड।
६ फिट ५ इन्च अग्ला हालान्ड अहिले विश्व फुटबलकै सबैभन्दा खतरनाक गोलकर्ता मानिन्छन्। मैदानमा उनी बल लिएर दौडिँदा विपक्षी खेलाडीहरू उनलाई घेर्न खोज्छन्, तर उनको तीव्र गति, शारीरिक शक्ति र गोल गर्ने अद्भुत क्षमताले उनीहरूलाई असफल बनाइदिन्छ। खेल विश्लेषकहरूका अनुसार हालान्ड ३६ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन सक्छन्, जुन आधुनिक फुटबलकै सबैभन्दा तीव्र गतिमध्ये एक हो।
विश्व फुटबलमा अहिले लमिन यमाल, एम्बाप्पे, मेसी र रोनाल्डो जस्ता खेलाडीहरूको चर्चा भइरहेका बेला हालान्डलाई ‘गोल गर्ने मेसिन’ का रूपमा हेरिन्छ। मेसीको खेलमा जादू छ, रोनाल्डोमा कौशल र अनुशासन छ भने हालान्डमा विस्फोटक शक्ति, आक्रामकता र गोल गर्ने असीमित भोक देखिन्छ।
हालान्ड अहिले विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक भए पनि उनको देश नर्वे लामो समयसम्म विश्वकपमा छनोट हुन नसक्दा उनले विश्व फुटबलको ठूलो मञ्च गुमाइरहेका थिए। तर अब २८ वर्षपछि नर्वेले विश्वकपमा पुनरागमन गर्ने सम्भावना बलियो बन्दै जाँदा हालान्डमाथि संसारभरका फुटबल समर्थकको नजर केन्द्रित भएको छ।
नर्वे कुनै फुटबल महाशक्ति राष्ट्र होइन। उसले इतिहासमा केवल तीन पटक मात्रै विश्वकप खेलेको छ — सन् १९३८, १९९४ र १९९८ मा। सन् १९९८ को फ्रान्स विश्वकप नर्वेको फुटबल इतिहासकै सबैभन्दा स्मरणीय क्षण मानिन्छ, जहाँ उसले समूह चरणमा ब्राजिललाई २–१ ले हराएर संसारलाई चकित बनाएको थियो। तर त्यसपछि नर्वे लामो समयसम्म विश्व फुटबलको मुख्य मञ्चबाट हरायो।
त्यो समयमा हालान्ड जन्मिएकासमेत थिएनन्। आज भने उनी नर्वेको फुटबल इतिहास बदल्ने खेलाडीका रूपमा उदाएका छन्।
हालान्डको जन्म इङ्ल्यान्डको लिड्समा भएको थियो। उनका बुबा अल्फी हालान्ड प्रिमियर लिगका चर्चित डिफेन्डर थिए, जसले म्यानचेस्टर सिटी र लिड्स युनाइटेडबाट खेलेका थिए। उनकी आमा ग्राइ मारिटा ब्राउट राष्ट्रिय स्तरकी एथलिट थिइन्। त्यसैले खेलकुदको प्रतिभा उनलाई जन्मजात प्राप्त भएको मानिन्छ।
सानैदेखि हालान्ड केवल फुटबल मात्र खेल्दैनथे। उनी दौड, ह्यान्डबल र गल्फमा पनि उत्तिकै अब्बल थिए। पाँच वर्षको उमेरमै उनले ‘स्ट्यान्डिङ लङ जम्प’ मा विश्व कीर्तिमान बनाएका थिए, जुन आजसम्म पनि तोडिएको छैन।
फुटबलप्रतिको प्रेमले भने उनलाई अन्ततः यही खेलतर्फ केन्द्रित गरायो। उनले १६ वर्षमै नर्वेको ब्रिन क्लबबाट व्यावसायिक फुटबलमा डेब्यू गरेका थिए। त्यति बेला उनी दुब्ला–पातला थिए र विपक्षी खेलाडीहरूले सजिलै लडाइदिन्थे।

पछि मोल्डे क्लबमा पुगेपछि प्रशिक्षक ओले गनर सोल्स्यारले उनलाई वास्तविक स्ट्राइकर कसरी बन्ने भनेर सिकाए। त्यही समय उनको शरीरमा तीव्र परिवर्तन आयो। केही वर्षमै उनी असाधारण उचाइ र बलियो शरीर भएका खेलाडी बने। शरीरमा आएको अचानक परिवर्तनका कारण उनलाई हड्डी र मांसपेशी दुख्ने समस्या पनि भयो। तर उनले हार मानेनन्।
घन्टौं जिममा पसिना बगाएर उनले आफ्नो शरीरलाई आधुनिक फुटबलको शक्तिशाली हतियार बनाए।
हालान्डको परिवारसँग जोडिएको एउटा भावनात्मक फुटबल कथा पनि निकै चर्चित छ। सन् २००१ मा म्यानचेस्टर युनाइटेडका कप्तान रोय किनले हालान्डका बुबा अल्फीलाई गरेको खतरनाक ट्याकलका कारण उनको करिअर लगभग समाप्त भएको थियो। बाल्यकालदेखि बुबाको त्यो पीडा सुनेर हुर्किएका हालान्ड आज त्यही म्यानचेस्टर सहरमा आएर म्यानचेस्टर सिटीबाट गोलको वर्षा गरिरहेका छन्। धेरै समर्थकहरू मजाकमै भन्छन् — “हालान्डको आक्रामक खेल वास्तवमा बुबामाथिको अन्यायको मीठो बदला हो।”
हालान्डले आफ्नो करिअरमा थुप्रै अविश्वसनीय कीर्तिमान बनाइसकेका छन्। सन् २०१९ को फिफा यू–२० विश्वकपमा उनले होन्डुरसविरुद्ध एकै खेलमा ९ गोल गर्दै विश्व कीर्तिमान बनाए। आरबी साल्जबर्गबाट च्याम्पियन्स लिग डेब्यू गर्दा पहिलो खेलमै ह्याट्रिक गरे। बोरुसिया डर्टमन्डमा पनि मैदान छिरेको केही मिनेटमै ह्याट्रिक गरेर संसारलाई चकित बनाए।
सन् २०२२ मा म्यानचेस्टर सिटी पुगेपछि उनले प्रिमियर लिगमा गोलको सुनामी नै ल्याइदिए। पहिलो सिजनमै ३६ गोल गर्दै दशकौं पुरानो रेकर्ड तोडे। उनले क्लबलाई प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग जिताएर ऐतिहासिक ‘ट्रेबल’ दिलाए।
विश्वका चर्चित सञ्चार माध्यमहरूले हालान्डलाई अनौठा उपनाम दिएका छन्। कसैले उनलाई “द नर्डिक मन्स्टर” भनेका छन् भने कसैले “गोल गर्ने मेसिन”। अमेरिकी पत्रिका टाइमले उनलाई नर्वेली पौराणिक देवता ‘थोर’ जस्तै देखिने खेलाडीको उपमा दिएको थियो।
ब्रिटिस विश्लेषक ग्यारी नेभिलले हालान्डबारे भनेका थिए, “उनको फिनिसिङ ह्यारी केनजस्तै छ, शक्ति वेन रूनीको जस्तो छ र गति ब्राजिलियन रोनाल्डोको सम्झना दिलाउने खालको छ।”
मैदानमा आक्रामक देखिने हालान्ड व्यक्तिगत जीवनमा भने निकै रमाइला र सरल स्वभावका छन्। उनी ह्याट्रिक गरेपछि खेलको बल घर ल्याएर ओछ्यानमै सँगै राखेर सुत्ने गरेको बताउँछन्।
उनले आफ्नो गोल गर्ने रहस्य पनि खुलाएका छन्। घरेलु खेलअघि बुबाले पकाइदिने विशेष ‘लाजान्या’ ले आफूलाई ऊर्जा दिने उनी ठट्टा गर्दै बताउँछन्। उनी क्रिस्टियानो रोनाल्डोको फिटनेस र डाइटबाट पनि निकै प्रभावित छन्।
फुटबलबाहेक हालान्ड संगीतप्रेमी पनि हुन्। किशोरावस्थामा उनले साथीहरूसँग मिलेर र्याप ब्यान्डसमेत बनाएका थिए।

यति ठूलो स्टार बने पनि हालान्डलाई आफ्नो गाउँ निकै प्रिय छ। छुट्टी पाउनेबित्तिकै उनी नर्वेको ब्रिन फर्किन्छन्, जहाँ उनी जंगलमा दाउरा काट्ने, ट्र्याक्टर चलाउने र सामान्य जीवन बिताउने गर्छन्।
अब विश्व फुटबलमा मेसी र रोनाल्डोको युग विस्तारै अन्त्यतिर जाँदै गर्दा नयाँ पुस्ताको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठिरहेको छ। त्यही दौडमा हालान्ड प्रमुख दाबेदार बनेका छन्।
आगामी विश्वकपमा उनी फ्रान्सका एम्बाप्पे, स्पेनका यमाल र अन्य स्टार खेलाडीसँग प्रतिस्पर्धा गर्दै नर्वेलाई नयाँ इतिहास दिलाउने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
यसपालि विश्वकपमा संसारभरका फुटबल समर्थकहरूको नजर ३६ किमि प्रतिघन्टाको रफ्तारमा दौडिने यही नर्वेली स्टारतर्फ केन्द्रित हुनेछ।
