
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गरिरहेको समितिले अब उनको बयान लिने तयारी गरेको छ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरेको समितिले हालसम्म आरोपसँग सम्बन्धित कागजात, सम्पत्ति विवरण र विभिन्न पक्षसँगको बुझाइको अध्ययन गरिसकेको जनाएको छ।
समिति स्रोतका अनुसार छानबिनको काम आधाभन्दा बढी सकिएको छ भने अब उठेका प्रश्नबारे गुरुङसँग सोधपुछ गरिनेछ।
समितिका अध्यक्ष भण्डारीले छानबिन तथ्य र प्रमाणका आधारमा अघि बढिरहेको बताउँदै प्रतिवेदन स्पष्ट रूपमा आउने बताएका छन्।
उनले भने, “हामी बोल्दैनौं, हाम्रो प्रमाण बोल्छ। डकुमेन्ट बोल्छ। दोषी भए स्पष्ट रूपमा दोषी र निर्दोष भए कारणसहित निर्दोष भनेर प्रतिवेदन बुझाइन्छ।”
समितिलाई काम सुरु भएको दिनदेखि १५ दिनको समय दिइएको छ। समितिले तोकिएकै समयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको जनाएको छ।
व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको, सम्पत्ति विवरणमा सेयर लुकाएको लगायत आरोप सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।
राजीनामा दिँदै गुरुङले आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन होस् भन्ने चाहना व्यक्त गरेका थिए।
उता शनिबार सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर तालिमका क्रममा घाइते भएका जवानहरूको अवस्था बुझ्न पुगेपछि गुरुङ फेरि गृहमन्त्री बन्ने चर्चा पनि सुरु भएको छ।
यद्यपि उनको सचिवालयले भने मानवीय संवेदनाका कारण मात्रै उनी अस्पताल पुगेको जनाएको छ।
रास्वपाले अहिलेसम्म नयाँ गृहमन्त्रीको टुंगो लगाउन नसकेको र छानबिन प्रक्रिया पनि जारी रहेकाले गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।
