
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाइँदैछ भन्ने बाहिर फैलिएका हल्ला पूर्ण रूपमा गलत भएको स्पष्ट पारेको छ। पार्टी सचिव महेश बस्नेतले सचिवालय बैठकले ती सबै दाबीलाई खारेज गरेको बताएका छन्।
चार दिनसम्म चलेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै बस्नेतले अध्यक्ष ओलीले प्रस्तुत गरेका सबै प्रस्ताव बैठकबाट पारित भएको दाबी गरे।
“अध्यक्षज्यूलाई बिदा गरिँदैछ, राजीनामा मागिँदैछ, सचिवालयमा उहाँको पक्ष कमजोर छ भन्ने खालका सबै प्रचार भ्रामक साबित भएका छन्,” बस्नेतले भने।
आइतबार करिब १० घण्टा चलेको बैठकले संविधान संशोधनसम्बन्धी सुझाव, निर्वाचन समीक्षा कार्यदल गठन तथा कार्यविभाजन प्रस्ताव सुझावसहित पारित गरेको पार्टीले जनाएको छ।
