मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

 ट्रम्पसँग वार्तामा सी चिनफिङको कडा आपत्ति

Author Image
सोमवार, जेठ ११, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले जापानको बढ्दो सैन्यीकरणबारे कडा आपत्ति जनाउँदै तीव्र आलोचना गरेका छन्।

फाइनान्सियल टाइम्सका अनुसार बेइजिङमा भएको वार्ताबारे जानकार स्रोतहरूको हवाला दिँदै सीले जापानकी प्रधानमन्त्री सनई ताकाइचीको नीति र बढ्दो रक्षा खर्चप्रति आक्रोश व्यक्त गरेका हुन्। जापानले उत्तर कोरिया मात्र नभई चीनलाई समेत प्रमुख सुरक्षा चुनौतीका रूपमा उल्लेख गर्दै आएको विषयमा पनि सीले असन्तुष्टि जनाएका थिए।

वार्ताका क्रममा सीको प्रस्तुतिलाई अमेरिकी अधिकारीहरूले असामान्य रूपमा आक्रामक र भावुक भनेको बताइएको छ। यद्यपि ट्रम्पले भने उत्तर कोरियाबाट बढ्दो खतरा र क्षेत्रीय सुरक्षाका कारण जापानले रक्षा नीति कडा बनाउनु स्वाभाविक हुन सक्ने प्रतिक्रिया दिएका थिए।

जापानकी प्रधानमन्त्री ताकाइचीले हालै चीनप्रति कडा अभिव्यक्ति दिँदै ताइवान संकटमा जापानको सुरक्षासम्बन्धी भूमिकाबारे टिप्पणी गरेकी थिइन्, जसपछि बेइजिङ–टोकियो सम्बन्धमा तनाव बढेको हो।

यसबीच चीनले जापानी सैन्य विस्तार र ताइवानसम्बन्धी नीति विरुद्ध लगातार आलोचना गर्दै आएको छ। विवादले अमेरिका–चीन–जापान त्रिकोणीय सम्बन्धमा नयाँ तनाव थपिएको विश्लेषण गरिएको छ।

 (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)