
आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो समारोहमा राष्ट्रपतिलाई प्रमुख वक्ता बनाउन अनुरोध गर्दै औपचारिक पत्राचार गरेको छ।
स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतलनिवासमा मुख्य सचिव सुमनराज अर्यालमार्फत पत्र पठाएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँबाटै सम्बोधन हुनु उपयुक्त हुने तर्क सरकारको रहेको बताइएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा काठमाडौं महानगरपालिकाका मेयर हुँदा पनि गणतन्त्र दिवसका औपचारिक समारोह बहिष्कार गर्ने गरेको स्मरण गरिएको छ।
सरकारको यो निर्णयसँगै यस वर्षको गणतन्त्र दिवस समारोहको औपचारिक सम्बोधनलाई लिएर नयाँ राजनीतिक चर्चा सुरु भएको छ।
