
सरकारले चार वर्षपछि सरकारी कर्मचारीको तलबमा उल्लेखनीय वृद्धि गर्दै करिब २१ प्रतिशतसम्म बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार अब एक खरिदारको मासिक तलब–भत्ता करिब ५७ हजार रुपैयाँ पुग्ने भएको छ भने मुख्यसचिवको मासिक आम्दानी १ लाख रुपैयाँ नाघ्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले तलब वृद्धि गरिएको जनाइएको छ। लामो समयदेखि तलब नबढेको भन्दै कर्मचारीहरूले गुनासो गरिरहेका बेला सरकारले एकमुष्ट १० प्रतिशत तलब वृद्धि, त्यसमा थप १० प्रतिशत प्रोत्साहन भत्ता र महँगी भत्ता थपेको हो।
खरिदारको तलब अब कति?
नयाँ व्यवस्थाअनुसार एक खरिदारको मासिक तलब–भत्ता बढेर ५६ हजार ८७४ रुपैयाँ पुगेको छ। आधारभूत तलब, प्रोत्साहन रकम, महँगी भत्ता तथा ग्रेड रकम जोड्दा यो रकम पुगेको हो।
मुख्यसचिवको तलब कसरी पुग्यो १ लाख माथि?
हाल मुख्यसचिवले आधारभूत रूपमा ७७ हजार २११ रुपैयाँ तलब पाउँदै आएका थिए।
सरकारले गरेको १० प्रतिशत वृद्धिपछि यो रकम ८४ हजार ९३२ रुपैयाँ पुगेको छ।
त्यसपछि सोही बढेको तलबमा थप १० प्रतिशत प्रोत्साहन रकम जोड्दा करिब ९३ हजार ४३२ रुपैयाँ पुग्छ। यसमा सरकारले घोषणा गरेको ५ हजार रुपैयाँ महँगी भत्ता थपिएपछि मासिक रकम ९८ हजार रुपैयाँ नाघ्छ।
यसबाहेक मुख्यसचिवले पाउने दुई ग्रेड रकम समेत जोडिँदा मासिक तलब–भत्ता करिब १ लाख ४ हजार ४८७ रुपैयाँ पुग्ने भएको हो।
कर्मचारीलाई राहत, सरकारमाथि दायित्व पनि बढ्ने
सरकारले कर्मचारीलाई आकर्षित गर्न र कार्यक्षमता बढाउन भन्दै तलब वृद्धि गरे पनि यसले राज्यको प्रशासनिक खर्च उल्लेखनीय रूपमा बढाउने देखिएको छ। यद्यपि सरकारले पेन्सन दायित्व कम गर्दै कार्यरत कर्मचारीलाई बढी प्रोत्साहन गर्ने नीति अपनाएको जनाएको छ।
