
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार भारत भ्रमणमा जाने भएको छ। भ्रमणबारे रास्वपाले औपचारिक जानकारी सार्वजनिक नगरे पनि भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले आइतबार विज्ञप्तिमार्फत यसको पुष्टि गरेको छ।
भाजपाले जारी गरेको वक्तव्यअनुसार नयाँदिल्लीमा हुने भेटघाटका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीन लगायत वरिष्ठ नेताहरूसँग छलफल गर्नेछ। स्रोतका अनुसार भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत उच्चस्तरीय नेताहरूसँग पनि भेटवार्ताको सम्भावना रहेको छ, यद्यपि भेटको समय भने तय भइसकेको छैन।
पार्टी स्रोतका अनुसार सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा पनि भारत जाने कार्यक्रम रहेको छ।
नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा चर्चा भइरहेका बेला हुन लागेको यो भ्रमणलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। विशेषगरी भारतीय विदेश सचिव विक्रम मिश्री को नेपाल भ्रमण रद्द भएको तथा नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण टुंगो नलागेको पृष्ठभूमिमा यस भ्रमणलाई चासोका साथ हेरिएको छ।
भाजपाको वैदेशिक मामिला विभाग प्रमुख डा. विजय चौथाइवाले ले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच पार्टी-टू-पार्टी सम्बन्ध तथा सहकार्यको आधार निर्माण गर्नु हो। संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अपेक्षा पनि गरिएको छ।
भाजपाले यो भ्रमणले दुई दलबीच रचनात्मक संवाद र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
स्रोत : भाजपा जारी वक्तव्य तथा पार्टी स्रोत
