मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

अमेरिकी भूमिमा बेपत्ता नेपाली नर्स ममता काफ्ले प्रकरणमा नयाँ प्रमाण, शव अझै फेला परेन

Author Image
सोमवार, जेठ १८, २०८३

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट सम्बन्धी बहुचर्चित घटनामा झन्डै दुई वर्षपछि नयाँ फरेन्सिक प्रमाण फेला परेको छ। यद्यपि, हालसम्म ममताको शव भने फेला पर्न सकेको छैन।

अमेरिकी सञ्चारमाध्यम Fox 5 ले प्राप्त गरेको अदालतसम्बन्धी दस्तावेजअनुसार अनुसन्धानका क्रममा बरामद गरिएको एउटा आराबाट मानव कपाल र रौँका टुक्राहरू फेला परेका छन्। भर्जिनियाको फरेन्सिक विज्ञान विभागले ती सामग्रीको परीक्षण गरिरहेको जनाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार आराबाट तीनवटा मानव कपाल, १३ वटा कपालका टुक्रा, केही रेशा तथा अन्य कणहरू संकलन गरिएको थियो। प्रारम्भिक रूपमा भिजुअल परीक्षण र ‘स्टेरियो माइक्रोस्कोपी’ विधिबाट अध्ययन गरिएपछि थप फरेन्सिक विश्लेषण अगाडि बढाइएको हो।

अदालतको अभिलेखअनुसार फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’ का लागि उपयुक्त हुन सक्ने देखिएको छ। ती नमुनाहरूलाई थप परीक्षणका लागि फरेन्सिक बायोलोजी शाखामा पठाइएको छ। यद्यपि, अन्य १३ वटा कपालका टुक्रा भने डीएनए परीक्षणका लागि पर्याप्त गुणस्तरका नरहेको जनाइएको छ।

यस घटनामा ममताका श्रीमान् नरेश भट्ट माथि श्रीमतीको हत्या तथा शव लुकाएको अभियोगमा कानुनी प्रक्रिया अघि बढाइएको छ। उनी हाल हिरासतमा रहेका छन्। अभियोजन पक्षले नरेशले नै ममताको हत्या गरेको दाबी गर्दै आएको भए पनि हालसम्म ममताको शव फेला नपरेकाले घटनाका धेरै पक्ष अझै रहस्यमै छन्।

सन् २०२४ मा ममता बेपत्ता भएदेखि अमेरिकी प्रहरी तथा फरेन्सिक टोलीले निरन्तर अनुसन्धान गरिरहेका छन्। पछिल्लो पटक फेला परेको यो प्रमाणले मुद्दाको अनुसन्धानलाई नयाँ दिशा दिन सक्ने विश्वास गरिएको छ।

अब डीएनए परीक्षणको अन्तिम रिपोर्ट आएपछि ममता काफ्ले भट्ट बेपत्ता प्रकरणका थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ। तर, अदालतबाट अन्तिम फैसला नआएसम्म अभियोगहरू आरोपकै रूपमा रहनेछन्।