मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

भारत भ्रमणपछि रवि झन् बलिया बन्दैछन्? उच्चस्तरीय भेटघाटले बढायो राजनीतिक चर्चा

Author Image
बिहिवार, जेठ २१, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमण नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँदिल्ली पुगेका रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा विदेशमन्त्री एस. जयशंकरलगायत उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए।

भारतले दिएको यो महत्वलाई धेरैले सामान्य कूटनीतिक शिष्टाचारभन्दा माथि उठेर हेरेका छन्। विशेष गरी नेपालको सबैभन्दा ठूलो संसदीय दलका सभापतिका रूपमा रविलाई दिइएको सम्मानले उनको राजनीतिक उचाइ थप बढाएको विश्लेषण भइरहेको छ।

विश्लेषक डम्बर खतिवडाका अनुसार यो भ्रमणले दुई सन्देश दिएको देखिन्छ। पहिलो, प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक सक्रियता कमजोर देखिएपछि भारतले सत्तारुढ दलको सभापतिसँग सम्बन्ध सुदृढ गर्न खोजेको हुन सक्छ। दोस्रो, नेपाल–भारत सम्बन्धमा देखिएको असहजताबीच भारतले समानान्तर कूटनीतिक अभ्यासमार्फत रविलाई महत्व दिएको हुन सक्छ।

भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्य भने यसलाई सकारात्मक रूपमा हेर्छन्। उनका अनुसार संसदमा बहुमत प्राप्त दलका सभापतिलाई सम्मान गर्नु नेपाल र नेपाली जनताप्रतिको सम्मान हो।

रास्वपाभित्र पनि यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री बालेन शाहको प्रभाव बढ्दै गएको र पार्टी नेतृत्वमा रवि केही रक्षात्मक अवस्थामा पुगेको चर्चा चलिरहेका बेला भारत भ्रमणले उनको राजनीतिक हैसियत पुनः मजबुत बनाएको विश्लेषण गरिएको छ।

आगामी असारमा हुने रास्वपाको पहिलो महाधिवेशनअघि भएको यो भ्रमणलाई पनि अर्थपूर्ण मानिएको छ। पार्टीभित्र रविको विकल्प देखिएको छैन र उनलाई पुनः सर्वसम्मत सभापति बनाउने तयारी भइरहेको नेताहरूले बताएका छन्।

यद्यपि विश्लेषकहरूका अनुसार कुनै पनि विदेशी शक्तिको समर्थनभन्दा बढी महत्त्वपूर्ण कुरा सरकारको कार्यसम्पादन, जनताको सन्तुष्टि र पार्टीभित्रको एकता नै हो। भारतले दिएको सम्मानले रविको राजनीतिक प्रभाव बढाउन सहयोग पुर्‍याए पनि नेपालको राजनीति अन्ततः नेपाली जनताको मत र विश्वासबाटै निर्धारित हुने उनीहरूको भनाइ छ।