
परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय छलफल गरेका थिए।
शनिबार भारतीय विदेशमन्त्री जयशंकरसँग भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल-भारत सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल भएको थियो। वार्तामा विकास सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा सहयोग, सम्पर्क सञ्जाल विस्तार र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषय प्रमुख रूपमा उठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए। त्यस्तै भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग समेत छुट्टै भेट गरी आपसी हितका विषयमा छलफल गरेका थिए।
परराष्ट्रमन्त्री खनालको भ्रमणलाई नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने तथा द्विपक्षीय सहकार्यका विविध क्षेत्रमा नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ।
