
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आगामी जेठ २५ गते बिहान ९ बजे सिंहदरबारस्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बैठक बस्नेछ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष/सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। बैठकको औपचारिक सूचना र निमन्त्रणा सबै दललाई पठाइसकिएको तथा अधिकांश दलबाट सहभागिताको पुष्टि भइसकेको रास्वपाले जनाएको छ।
महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संसद सञ्चालन, दलहरूबीचको सहकार्य तथा राष्ट्रिय सरोकारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि संसदको अवरोध अन्त्य र राजनीतिक सहमतिको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा नेताहरूसँग छुट्टाछुट्टै संवाद गर्दै सहजीकरणको प्रयास गरेका थिए।
रास्वपाको पहलमा हुन लागेको यो सर्वदलीय बैठकलाई पछिल्लो राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।
