मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

सुदूरपश्चिम सरकारमा कांग्रेसको ठूलो फेरबदल, यी हुन् नवनियुक्त ५ मन्त्री

Author Image
सोमवार, जेठ २५, २०८३

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा व्यापक मन्त्री हेरफेर गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गरेको छ।

कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार साँझ पार्टीको तर्फबाट पाँच जना मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले केहीबेरमै पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको स्रोतले जनाएको छ।

को को बने मन्त्री?

  • विक्रमसिंह धामी – आर्थिक मामिला मन्त्री
  • जुना दानी – आर्थिक मामिला राज्यमन्त्री
  • मानबहादुर रावल – उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री
  • बेलबहादुर राना मगर – सामाजिक विकास मन्त्री
  • मधु भारती – सामाजिक विकास राज्यमन्त्री

यसअघि कांग्रेसको कोटाबाट सरकारमा रहेका बलबहादुर सिंह थापा, मेघराज खड्का, शिवराज भट्ट, प्रकाश बम र सरस्वती खड्कालाई सोमबार पदमुक्त गरिएको थियो।

किन भयो मन्त्री फेरबदल?

कांग्रेसभित्र बढ्दो आन्तरिक असन्तुष्टि र शक्ति संघर्ष व्यवस्थापन गर्न मुख्यमन्त्री शाहले मन्त्री परिवर्तनको कदम चालेका हुन्। पार्टीभित्रैबाट मुख्यमन्त्री शाहलाई संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट हटाउने प्रयास भइरहेका बेला उनले नयाँ अनुहारलाई अवसर दिएर तत्कालका लागि आन्तरिक विवाद साम्य पार्ने प्रयास गरेका छन्।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने निर्णय गरेको थियो।

एमालेमा पनि फेरबदलको तयारी

सत्ता साझेदार नेकपा एमालेले पनि आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने तयारी गरेको छ। यद्यपि नयाँ मन्त्रीहरूको नाम टुंगो नलागेकाले एमालेबाट तत्काल फेरबदल नहुने भएको छ।

स्रोतका अनुसार एमालेका मन्त्रीहरू बजेट पारित भएपछि मात्रै परिवर्तन गरिने सम्भावना छ।

हाल एमालेबाट:

  • वीरबहादुर थापा – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
  • सुरेन्द्रबहादुर पाल – भौतिक पूर्वाधार विकास मन्त्री
  • हिरा सार्की – आन्तरिक मामिला तथा कानुन मन्त्री
  • निर्मला देवी साउद – भौतिक पूर्वाधार विकास राज्यमन्त्री

सरकारमा रहेका छन्।

सरकारको गणित

२०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाह नेतृत्वको मन्त्रिपरिषदमा हाल मुख्यमन्त्रीसहित १० सदस्य छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ र एमालेका ११ सांसद छन्। बहुमतका लागि आवश्यक संख्या २७ भएकाले दुई दलको गठबन्धनसँग सरकार सञ्चालनका लागि पर्याप्त संख्या रहेको छ।

नयाँ मन्त्रीहरूको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारभित्रको शक्ति सन्तुलन र कांग्रेसभित्रको आन्तरिक समीकरणले नयाँ मोड लिएको राजनीतिक विश्लेषण गरिएको छ।