
प्रधानमन्त्रीले गरेको अभिव्यक्तिको जिम्मेवारी अरूले लिएर सच्याउनु उचित नहुने भन्दै श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले कडा आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्ट पार्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै साम्पाङले लोकतन्त्रको आधार नै कार्यकारी पदलाई जवाफदेही बनाउनु भएकाले यस्तो विषयमा प्रतिनिधिमार्फत “ढाकछोप” गर्न नमिल्ने तर्क गरे।
उनका अनुसार प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्तिलाई परराष्ट्रमन्त्रीमार्फत व्याख्या वा सच्याउने प्रयास भइरहेको कुरा आफूहरूले स्वीकार गर्न नसक्ने हो। “गल्ती जसले गरेको हो, उसैले जिम्मा लिनुपर्छ,” भन्ने उनको मुख्य जोड थियो।
संसदमा बोल्दै उनले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने माग दोहोर्याए। यदि प्रत्यक्ष आउन सम्भव छैन भने लिखित रूपमा स्पष्ट धारणा दिनुपर्ने विकल्प पनि उनले उल्लेख गरे।
उनले विधि र संविधानअनुसार संसद कार्यान्वयन हुनुपर्ने भन्दै यस्तो अभ्यासले संसदप्रतिको उत्तरदायित्व कमजोर बनाउने जोखिम रहेको चेतावनी दिए।
यस विषयमा प्रधानमन्त्री बालेन शाह पक्षबाट भने औपचारिक रूपमा प्रत्यक्ष प्रतिक्रिया वा स्पष्टीकरण सार्वजनिक भइसकेको छैन।
