मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

पोखरा–दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला, पर्यटन क्षेत्र उत्साहित

Author Image
बिहिवार, जेठ २८, २०८३

पोखरा । संयुक्त अरब इमिरेट्स (यूएई) को निजी वायुसेवा कम्पनी flydubai ले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित सिधा उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले उक्त रुटका लागि टिकट बुकिङसमेत खुला गरिसकेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुनिश्चित भएको खबरले पर्यटन तथा व्यवसायिक क्षेत्र उत्साहित बनेको छ। फ्लाई दुबईले दैनिक उडान सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन, भुटानलगायत केही मुलुकतर्फ चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्रै हुँदै आएको थियो। नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको अभावमा अपेक्षित रूपमा विमानस्थलको उपयोग हुन सकेको थिएन।

पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाका कारण विश्वभर परिचित गन्तव्य हो। दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि अन्तर्राष्ट्रिय पर्यटक आगमन बढ्ने तथा पर्यटन उद्योगले नयाँ गति लिने अपेक्षा गरिएको छ।

धनराज आचार्य ले दुबई उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यो केवल नयाँ हवाई सेवा थपिएको विषय मात्र नभई पर्यटन प्रवर्द्धन, विदेशी लगानी आकर्षण तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर पनि हो।

होटल तथा पर्यटन व्यवसायीहरूले पनि नियमित उडानले पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार दुबई विश्वकै प्रमुख ट्रान्जिट हब भएकाले पोखरालाई युरोप, मध्यपूर्व तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्न समेत सहयोग पुग्नेछ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) की अध्यक्ष ममता न्यौपानेले नियमित उडानको सुरुआतले पोखराको पर्यटन बजारलाई अन्तर्राष्ट्रिय पहुँच दिलाउने बताएकी छन्। पर्यटन व्यवसायीहरूका अनुसार यसले पोखरालाई विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवाहरू, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रुहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। हालसम्म यस्ता यात्रुहरूलाई काठमाडौं पुगेर अन्तर्राष्ट्रिय उडान लिनुपर्ने बाध्यता थियो।

सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु भएसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ।

फ्लाई दुबईले सञ्चालन गर्ने उक्त सेवाका लागि यात्रुहरूले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ।