मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

विश्व शरणार्थी दिवस २०२६ भुटानी शरणार्थी शिविरमा मनाइयो

Author Image
शनिवार, असार ६, २०८३

मोरङ – मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा विश्व शरणार्थी दिवस २०२६ विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। सेटलमेन्ट म्यानेजमेन्ट कमिटी (एसएमसी) को आयोजनामा सम्पन्न कार्यक्रममा शरणार्थी समुदाय, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“Until Everyone is Safe” (सबै सुरक्षित नभएसम्म कोही पनि पूर्ण रूपमा सुरक्षित हुँदैन) भन्ने विश्वव्यापी नाराका साथ आयोजित कार्यक्रममा शरणार्थीहरूको अधिकार, सम्मान तथा सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो। सहभागीहरूले प्लेकार्ड प्रदर्शन गर्दै शरणार्थीहरूको हकहित संरक्षण, मानव अधिकारको सम्मान र सामाजिक सद्भाव प्रवर्द्धनप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले शरणार्थी समुदायले दशकौँदेखि भोग्दै आएका चुनौतीहरू, उनीहरूको पहिचान, अधिकार र सम्मानजनक जीवनयापनका सवालहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय, सरोकारवाला निकाय तथा सम्बन्धित सरकारहरूको निरन्तर सहयोग र प्रतिबद्धता आवश्यक रहेको औँल्याए।

विश्व शरणार्थी दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले शरणार्थीहरूको अवस्था, अधिकार र उनीहरूको भविष्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

फोटो साभार : Bhutanese news