
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको पहिलो चरणमा सभापति तथा केन्द्रीय सदस्य पदका लागि मनोनयन फारम वितरण र दर्ता कार्य अघि बढाइएको छ।
पार्टी सभापति पदका लागि रवि लामिछाने ले उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीका प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह रहेका छन्।
पार्टीको विधानअनुसार सभापति पदमा उम्मेदवारी दिन एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था छ।
मनोनयन दर्ताका क्रममा रवि लामिछाने र बालेन शाह सँगसँगै महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालय पुगेका थिए। उम्मेदवारी दर्ता सम्पन्न भएपछि दुवै नेता एकसाथ बाहिर निस्किएर महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई अभिवादन गरेका थिए।
निर्वाचन तालिकाअनुसार साँझ ७ बजेदेखि ७:३० बजेसम्म सभापति पदको मनोनयन फारम वितरण तथा दर्ताको समय तोकिएको छ।
यसैबीच, बालेन शाहका लागि सिर्जना गरिएको भनिएको वरिष्ठ नेता पदमा भने यसपटक निर्वाचन नहुने जनाइएको छ। महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया तीव्र बनाएको छ।
