मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

गृहमन्त्रीको ब्रेकफास्टमा अमलेटभित्र माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिवाना

Author Image
मङ्गलवार, असार ९, २०८३

गृहमन्त्री सुधन गुरुङ ले मंगलबार बिहान ब्रेकफास्टका क्रममा खाएको अमलेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटलमाथि कारबाही गरिएको छ।

घटनापछि गरिएको अनुगमनमा खाद्य सामग्रीको गुणस्तरमा गम्भीर लापरबाही भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवन ले भरतपुरस्थित होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालि लाई ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको संयुक्त टोलीले होटलमा अनुगमन गर्दा गुणस्तरहीन तेल प्रयोग गरिएको तथा तरकारीहरू ताजा नरहेको पाइएको थियो। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका खाद्य पदार्थ प्रयोग गरेको निष्कर्षपछि जरिवाना गरिएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङ ले जारी गरेको विज्ञप्तिमा खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन भएको पाइएकाले कानुनबमोजिम कारबाही गरिएको उल्लेख छ।

यसअघि गृहमन्त्रीले ब्रेकफास्टका क्रममा अमलेटमा माछाको काँडा भेटिएको गुनासो गरेपछि घटनाको छानबिन सुरु गरिएको थियो। घटनासँग सम्बन्धित होटलका एक कुकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ।

घटनाले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा खाद्य गुणस्तर र सरसफाइ मापदण्डको पालना सम्बन्धी प्रश्न उठाएको छ।