
नेपाली दम्पती दिनेश बस्नेत र बिना खतिवडाले अस्ट्रेलियाको पर्थमा सानो मःम पसलबाट सुरु गरेको व्यवसायलाई आज बहुआयामिक उद्योगका रूपमा स्थापित गरेका छन्। सन् २०१९ मा एउटा सानो कोठाबाट सुरु भएको ‘लिटिल म्याजिक मःम’ अहिले ३ वटा रेस्टुरेन्ट, २ वटा ग्रोसरी, एउटा होलसेल व्यवसाय र मःम उत्पादन गर्ने कारखानासम्म विस्तार भएको छ।
काठमाडौंमा रेस्टुरेन्टमा काम गरेर अनुभव बटुलेका दिनेश सन् २००८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए। सुरुका दिनमा उनले विभिन्न कार्यालय र अस्पतालका किचनमा काम गरे। सन् २०१७ मा साझेदारीमा इटालियन रेस्टुरेन्ट सञ्चालन गरे पनि त्यो व्यवसाय सफल हुन सकेन। त्यसपछि उनी फेरि जागिरमै फर्किए।
यही बीचमा श्रीमती बिना खतिवडाले नेपाली खानाको व्यवसाय गर्ने प्रस्ताव राखिन्। नेपाली खाना बिक्री होला भन्नेमा दिनेश विश्वस्त थिएनन्। तर बिनाको दृढ इच्छाशक्ति र नेपालमा मःम व्यवसाय चलाएको अनुभवकै आधारमा उनीहरू सन् २०१९ अगस्टमा सानो कोठाबाट ‘लिटिल म्याजिक मःम’ सञ्चालन गर्न तयार भए। दिनेशका अनुसार त्यसपछि उनीहरूले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।

नेपालमा रहँदा दिनेशले दरबारमार्गको रेस्टुरेन्टमा करिब पाँच वर्ष काम गरेका थिए। त्यसपछि मुम्बईमा पनि रेस्टुरेन्ट व्यवसाय गरे। नेपाल फर्किएपछि भारतबाट मःम पकाउने मेसिन ल्याएर बिक्री गर्ने र आफ्नै मःम पसल सञ्चालन गर्ने अनुभवसमेत उनीसँग थियो। यही अनुभवले अस्ट्रेलियामा व्यवसाय विस्तार गर्न सहयोग पुग्यो।
व्यवसाय बढ्दै गएपछि उनीहरूले सन् २०२३ मा दोस्रो शाखा सञ्चालनमा ल्याए। रेस्टुरेन्टसँगै ग्रोसरी पसल पनि सुरु गरे। हाल उनीहरूको रेस्टुरेन्टमा मःम, चाउमिन, सेलरोटी, सेकुवा, सुकुटी, नेवारी खाजा, नेपाली खाना र थकाली सेट पाइन्छ। सबैभन्दा लोकप्रिय परिकार भने मःम नै हो।
दिनेशका अनुसार अहिले पनि मःमको किमा र अचार श्रीमती बिनाले आफैं तयार गर्छिन्। सात वर्षदेखि उनले एक दिन पनि अचार बनाउन नछोडेको र व्यवसायकै व्यस्तताका कारण नेपालसमेत जान नपाएको दिनेश बताउँछन्। बिनाकै मेहनतले आज तीनवटा रेस्टुरेन्ट सञ्चालन गर्न सम्भव भएको उनको भनाइ छ।
मःमको बढ्दो मागलाई ध्यानमा राख्दै एक वर्षअघि उनीहरूले मःम उत्पादन गर्ने कारखाना पनि स्थापना गरेका छन्। त्यहाँ तयार गरिने फ्रोजन मःम आफ्नै रेस्टुरेन्ट र ग्रोसरीमा बिक्री गरिन्छ। हाल उनीहरूले प्रति हप्ता करिब ५ हजार प्लेट मःम बिक्री गरिरहेका छन्।

त्यसैगरी, ‘सगुन पर्थ’ मार्फत नेपालबाट कोदोको पिठोदेखि मुस्ताङको दालसम्म विभिन्न नेपाली खाद्य सामग्री आयात गरी आफ्ना दुई ग्रोसरीसहित नेपालीद्वारा सञ्चालित ६ वटा र अन्य गरी कुल ३८ वटा ग्रोसरी स्टोरमा आपूर्ति गरिरहेका छन्। उनका अनुसार नेपालमा पाइने अधिकांश खाद्य सामग्री अस्ट्रेलियामा उपलब्ध गराइन्छ र कडा गुणस्तर मापदण्ड पूरा गरेर मात्र बिक्री गरिन्छ।
हाल बस्नेत दम्पतीका सबै व्यवसायमा ३१ जना कार्यरत छन्। उनीहरूको वार्षिक कारोबार ७० लाख अस्ट्रेलियन डलर (करिब ७२ करोड रुपैयाँ) पुगेको छ। अबको लक्ष्य भने मःमलाई अस्ट्रेलियाभर विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा पुर्याउने रहेको उनीहरूले बताएका छन्।



(सेतोपाटीमा प्रकाशित समाचारका आधारमा तयार पारिएको। )
