मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

साउनदेखि कोट वा सांस्कृतिक पोशाक बिना रोष्ट्रममा जान नपाउने, सभामुखको चेतावनी

Author Image
मङ्गलवार, असार २३, २०८३

सभामुख डोलप्रसाद अर्यालले साउन महिनादेखि कोट, लोगो वा सांस्कृतिक पोशाक नलगाउने सांसदलाई प्रतिनिधि सभाको रोष्ट्रम प्रयोग गर्न नदिने बताएका छन्।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले सांसदहरूको पोशाक र आचरणप्रति असन्तुष्टि जनाउँदै दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आवश्यक कडाइ गर्न निर्देशन दिएका हुन्।

उनले केही सांसदले कोट फुकालेर कुर्सीमा झुण्ड्याउने तथा केहीले कोट र लोगो नै नलगाई बैठकमा सहभागी हुने गरेको उल्लेख गर्दै अब यस्तो अवस्था स्वीकार्य नहुने स्पष्ट पारे।

प्रतिनिधि सभा नियमावलीअनुसार सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था छ। साथै, कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा सभामुखले पोशाकसम्बन्धी मापदण्ड निर्धारण गर्न सक्ने व्यवस्था रहेको छ। सांस्कृतिक पोशाक लगाएर बैठकमा सहभागी हुन भने सांसदहरूलाई अनुमति छ।

सभामुख अर्यालले बैठक चलिरहेका बेला अनावश्यक रूपमा बाहिर–भित्र नगर्न सांसदहरूलाई सचेत गराउन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गरेका छन्। साथै, सरकारी इमेल प्रणाली प्रयोग गर्न र संसद्को दैनिक हाजिरी विवरण पनि छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन्।