मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाँणसहित २३ जना दोषी, असार २९ मा सजाय निर्धारण

Author Image
मङ्गलवार, असार २३, २०८३

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकेको हो।

यो मुद्दामा २०८० जेठ १० गते सरकारी वकिल कार्यालयले रायमाझी, खाँण, पाण्डेलगायत ३० जनाविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध तथा संगठित अपराध सम्बन्धी कसुरमा अभियोग दर्ता गरेको थियो।

अदालतको फैसलाअनुसार रामशरण केसी, टंककुमार गुरुङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने सफाइ पाएका छन्।

फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी र संगठित अपराधमा दोषी ठहर गरिएको छ भने पूर्वगृहमन्त्री खाँणलाई ती कसुरमा मतियार ठहर गरिएको छ। पूर्वगृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको अदालतले जनाएको छ।

त्यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा मतियार बनेको अभियोगमा दोषी ठहर गरिएको छ। यसैगरी, प्रकरणका मुख्य योजनाकार मानिएका सानु भण्डारी र केशव दुलाललाई पनि सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।

अब दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण सम्बन्धी सुनुवाइ असार २९ गते हुने अदालतले जनाएको छ।