मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

आत्मदाह प्रयासपछि गणेश नेपालीको मार्मिक भनाइ : “महानगर प्रहरीले गर्दा यस्तो भयो, आमा–बुवालाई ख्याल गर्नू”

Author Image
बिहिवार, असार २५, २०८३

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपालीको अवस्था गम्भीर रहेको छ। उनको शरीरको करिब ६० प्रतिशत भाग जलेपछि हाल वीर अस्पताल को सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

घटनापछि अस्पताल पुगेका दाजु मदन नेपालीका अनुसार गणेशले अत्यन्त कठिन अवस्थामा केही शब्द मात्रै बोल्न सकेका थिए। “यो सबै महानगर प्रहरीले गर्दा भएको हो… आमा–बुवालाई राम्रोसँग ख्याल गर्नू,” भन्दै त्यसपछि उनी बोल्न नसकेको मदनले बताए।

परिवारका अनुसार गणेश मुगुको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्। उनी पछिल्लो साढे दुई वर्षदेखि काठमाडौंमा पठाओ चलाएर श्रीमती, दुई वर्षीया छोरी तथा वृद्ध आमा–बुबाको पालनपोषण गर्दै आएका थिए। आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन समेत परिवारलाई कठिनाइ भएको छ।

मदन नेपालीले गणेश शान्त स्वभावका, जिम्मेवार र परिवारप्रति समर्पित व्यक्ति रहेको बताउँदै आर्थिक ऋण वा पारिवारिक तनावका कारण यस्तो कदम चाल्ने व्यक्ति नभएको दाबी गरेका छन्। परिवारका अनुसार उनी वैदेशिक रोजगारीमा जाने तयारीसमेत गरिरहेका थिए।

घटनाको वास्तविक कारण अझै स्पष्ट भइसकेको छैन। परिवारले गणेशको महानगर प्रहरीसँग विवाद भएको संकेत गरे पनि त्यसपछि के भयो भन्नेबारे आफूहरूलाई पूर्ण जानकारी नभएको जनाएको छ।

उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पियुष दाहालका अनुसार गणेशको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टामा गम्भीर जलन भएको छ। शरीरको करिब ६० प्रतिशत भाग जलेकाले उनको अवस्था गम्भीर रहेको र चिकित्सकको निगरानीमा सघन उपचार भइरहेको अस्पतालले जनाएको छ।