मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई ४ वर्ष कैद, खाण र रिजाललाई २-२ वर्ष, १५ जना दोषी ठहर

Author Image
मङ्गलवार, असार ३०, २०८३

काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, शरणार्थी नेता टेकनाथ रिजाल सहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले सुनाएको फैसलाअनुसार टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रकुमार राई, आङटावा शेर्पा, गोविन्दकुमार चौधरी, सन्देश शर्मा, सागर राई, सानु भण्डारी र केशव दुलाललाई अधिकतम ४ वर्ष कैद सजाय सुनाइएको छ। उनीहरूलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा दोषी ठहर गरिएको छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजाललाई मतियारको भूमिकामा दोषी ठहर गर्दै २–२ वर्ष कैद सजाय तोकिएको छ। यस्तै, नरेन्द्र केसी, शमसेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई १ वर्ष कैद सजाय सुनाइएको छ।

अदालतले रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई भने आरोपबाट सफाइ दिएको छ।

सरकारी वकिल कार्यालयले २०८० जेठ १० गते ३० जनाविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा करिब २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोपमा ठगी, सरकारी लिखत किर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो।

नेपालकै बहुचर्चित भ्रष्टाचार तथा ठगी प्रकरणमध्ये एक मानिएको यस मुद्दाको फैसलाले लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई नयाँ कानुनी मोड दिएको छ।