नेपाल क्रिकेटमा अनुशासनको विषय फेरि बहसमा आएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

क्यानले अम्पायरप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको अभिव्यक्ति खेल भावना विपरीत भएको ठहर गर्दै यस्तो कारबाही गरेको जनाएको छ। निर्णयअनुसार करणलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गरिएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सम्बन्धित सरोकारवालासँग समन्वय गरेर उक्त निर्णय लिइएको हो। उनले खेलको मर्यादा र अनुशासन कायम राख्न यस्तो कदम चालिएको स्पष्ट पारे।
यसअघि अम्पायरिङ विवादलाई लिएर सन्दीप लामिछाने ले पनि असन्तुष्टि जनाएका थिए। मधेसविरुद्धको खेलमा एलबिडब्लु अपिल अस्वीकार भएपछि उनले अम्पायरसँग केही समय आक्रोशपूर्ण बहस गरेका थिए, जसको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

त्यसैक्रममा ‘ट्रोल क्रिकेट नेपाल’ नामक पेजमा गरिएको पोस्टमा करण केसीले गरेको टिप्पणीले थप विवाद चुलिएको थियो। उनले “यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति म्याच ब्यान हुन्छ?” भन्ने आशयको टिप्पणी गरेका थिए।
अम्पायर्स एन्ड स्कोरर्स संघले आपत्ति जनाएपछि करणले माफी मागेका थिए। तर क्यानले अनुशासन उल्लंघन भएको निष्कर्ष निकाल्दै कारबाही अघि बढाएको हो।
