मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

त्रिवि मैदानमा यूएई गान विवाद

Author Image
सोमवार, वैशाख ७, २०८३

नेपाल र यूएईबीचको टी–२० सिरिज सुरू हुनुअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईको राष्ट्रिय गान दुई पटकसम्म गलत बजाइएको घटना सार्वजनिक भएको छ ।

खेलअघि परम्पराअनुसार पहिलो पटक नेपालको राष्ट्रिय गान बजाइएको थियो। त्यसपछि यूएईका खेलाडी राष्ट्रिय गानका लागि लाइनअपमा उभिएका थिए। तर आयोजक पक्षबाट पहिलो पटक अर्कै गीत बजाइएपछि यूएईका कप्तान मोहम्मद वसीमले नजिकै रहेका नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहलाई सही गान नभएको जानकारी गराएका थिए।

त्यसपछि केही समय रोकिएर दोस्रो पटक अर्को गीत बजाइएको थियो। तर त्यो पनि यूएईको राष्ट्रिय गान नभएपछि कप्तान वसीमले पुनः असन्तुष्टि जनाएका थिए।

घटनापछि खेलका कमेन्टेटर एन्ड्रिय लियोनर्डले सार्वजनिक रूपमा माफी मागेका थिए। त्यसपछि यूएईको राष्ट्रिय गान नबजाइकनै खेल सुरू गरिएको थियो।

घटनाले आयोजक पक्षको व्यवस्थापनमाथि प्रश्न उठाएको छ । अन्तर्राष्ट्रिय खेलअघि राष्ट्रगानजस्तो संवेदनशील विषयमा भएको त्रुटिले मैदानमा केहीबेर असहज स्थिति सिर्जना गरेको थियो।