
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटको ऐतिहासिक तथा प्रेरणादायी यात्रामाथि आधारित डकुमेन्ट्री सार्वजनिक गरेको छ। ‘नेपाल– क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ शीर्षकको उक्त वृत्तचित्र सोमबार International Cricket Council (आईसीसी) र Cricket Association of Nepal (क्यान) को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
करिब तीन दशकको नेपाली क्रिकेट यात्रालाई समेटिएको डकुमेन्ट्रीमा नेपालको क्रिकेट विकास, समर्थकहरूको अद्वितीय साथ तथा भविष्यका लक्ष्यहरूलाई प्रस्तुत गरिएको छ। विशेषगरी भारतको Wankhede Stadium मा इंग्ल्याण्डविरुद्ध खेलेको ऐतिहासिक खेललाई विशेष महत्वका साथ समावेश गरिएको छ, जहाँ नेपालले विश्वविजेता टोलीलाई अन्तिम ओभरसम्म कडा चुनौती दिएको थियो।
डकुमेन्ट्रीमा नेपाली क्रिकेट समर्थकहरूलाई ‘१२औँ खेलाडी’ का रूपमा चित्रण गरिएको छ। कप्तान रोहित पौडेल ले समर्थकहरूको उत्साह र साथले खेलाडीहरूलाई थप प्रेरणा मिल्ने बताएका छन्।
नेपालको क्रिकेट यात्रामा सन् २०१४ को पहिलो टी–२० विश्वकप सहभागिता र सन् २०१८ मा प्राप्त ओडीआई मान्यतालाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। साथै, पूर्व कप्तान पारस खड्का को नेतृत्वमा सुरु भएको Nepal Premier League (एनपीएल) ले नेपाली क्रिकेटको व्यावसायिक विकासमा खेलेको भूमिकालाई पनि उजागर गरिएको छ।
डकुमेन्ट्रीमा नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने को क्रिकेट यात्रा, विश्व क्रिकेटमा बनाएको पहिचान तथा माइकल क्लार्क को सहयोगबारे पनि चर्चा गरिएको छ।
टेस्ट राष्ट्र बन्ने लक्ष्य
वृत्तचित्रमा नेपाली क्रिकेटको अबको सबैभन्दा ठूलो लक्ष्य टेस्ट राष्ट्र बन्नु रहेको उल्लेख गरिएको छ। कप्तान रोहित पौडेलले आफ्नो खेल जीवन समाप्त हुनुअघि नेपाललाई टेस्ट क्रिकेट खेल्ने राष्ट्रको रूपमा देख्ने चाहना व्यक्त गरेका छन्।
आईसीसीको थप सहयोग, अन्तर्राष्ट्रिय अवसर र घरेलु संरचनाको सुदृढीकरणमार्फत नेपालले विश्व क्रिकेटमा अझ उचाइ हासिल गर्न सक्ने विश्वास डकुमेन्ट्रीमा व्यक्त गरिएको छ। नेपाली क्रिकेट आज देशकै सबैभन्दा लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै भविष्यप्रति आशावादी सन्देश पनि दिइएको छ।
