बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् । जसका लागि सरकारले विभिन्न कार्यक्रम र योजनाहरू ल्याउनुपर्ने बताउँदै अध्यक्ष राउतले व्यसायीलाई प्रोत्साहित गरेमात्रै देशको अर्थतन्त्र बलियो हुने धारणा राखे ।

बिर्तामोड उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले कोभिडपछि समग्र देशको अर्थतन्त्र खस्किएको र त्यसमाथि व्यवसायीहरु पलायनको अवस्थामा पुगेकाले उनीहरुलाई राज्यले संरक्षण गर्नु पर्ने बताए । उनले व्यवसायीहरू पनि कानुनको दायरामा रहेर समयमै कर चुक्ता गर्दै राज्यको सेवा सुविधा उपभोग गर्न आग्रह गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले स्वागत गरेका थिए । कार्यक्रममा अध्यक्ष न्यौपानेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उनले उद्योग वाणिज्य संघका २३ वटा भावी योजनाहरू समेत प्रस्तुत गरेका छन् ।